बारा र पर्सामा नगदेबालीको रुपमा मकै खेती फस्टाउँदै

बीरगंज । बारा र पर्साका किसानहरुले विगत केही वर्षदेखि नगदेबालीको रुपमा मकै खेती गर्दै आएका छन् ।
बारा र पर्सामा खाद्यान्न बालीमा मकै बाली तेस्रो स्थानमा रहेकाले हिउँदे, वर्षे र बसन्ते गरी तीन प्रकारका बाली लगाउने गरिएको कृषि ज्ञान केन्द्र पर्साका प्रमुख रामजिवन ठाकुरले जानकारी दिनुभयो । तीन प्रकारका मकै बाली लगाउन सकिने भएकाले किसानको यसतर्फ आकर्षण बढेको प्रमुख ठाकुरले बताउनुभयो ।
मकै बालीमा हिउँदे र वसन्ते सिञ्चित क्षेत्रमा र वर्षे कम सिञ्चित क्षेत्रमा खेती हुने केन्द्रका सूचना अधिकृत उमेश थापाले बताउनुभयो ।
मकै व्यापारीले किसानको घर, खेतबाटै खरिद गर्ने गरेकाले बजारको समस्या नभएको किसान बताउँछन् ।
पर्सामा गत वर्ष विभिन्न जातका हिउँदे मकै ३ हजार ३ सय ५० हेक्टर क्षेत्रफलमा खेती गर्दा २७ हजार ४ सय ४० मेट्रिकटन मकै उत्पादन भएको प्रमुख रामजीवन ठाकुरले जानकारी दिनुभयो ।
त्यसैगरी बारा जिल्लाका किसानले यस वर्ष १४ हजार ४ सय ९० हेक्टर जमिनमा हिउँदे, बर्षे र बसन्ते मकैखेती गरी ८६ हजार ६ सय ९५ मेट्रिकटन उत्पादन गरेका छन् ।
जिल्ला कृषि ज्ञान केन्द्रका अनुसार ५ हजार ८ सय ६० क्षेत्रफलमा हिउँदे मकै खेती गरेर ३७ हजार ५ सय ४ मेट्रिकटन उत्पादन भएको हो ।
यसैगरी, यहाँ ८ हजार ६ सय ३० हेक्टरमा गरिएको बर्खे मकैबाट ४९ हजार एक सय ९१ मेट्रिकटन उत्पादन भएको छ ।
गत वर्ष किसानले हिउँदे मकै ५ हजार ८ सय ५० हेक्टर क्षेत्रफलमा खेती गरी ३७ हजार ४ सय ४० मेट्रिकटन उत्पादन गरेका थिए । गत वर्षको तुलनामा यस वर्ष अधिक जमिनमा खेती गरिएको भए पनि अपेक्षाकृत उत्पादन नभएको केन्द्रले जनाएको छ ।
बारा जिल्लामा मधेस प्रदेशमै सबैभन्दा बढी मकैखेती हुने गरेको छ । एक कट्ठामा गहुँबाली लगाउँदा अढाई हजार खर्च पर्ने र मकै लगाउँदा करिब चार हजार खर्च लाग्ने तर उत्पादनको दृष्टिकोणबाट गहुँको तुलनामा मकै बालीबाट तेब्बर बढी मुनाफा हुने गरेको बाराका किसानहरुले बताएका छन् ।
एक कट्ठामा गहुँ करिब एक क्विन्टल उत्पादन हुन्छ भने मकै भने चार क्विन्टलसम्म उत्पादन हुने गरेको किसानहरु बताउँछन्।
बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका अन्तर्गत पर्ने खैरवा, खेस्रौल, सिसहनिया, आमाडार, पिपरिया, फत्तेपुर, डुमरवाना, पोता, मौलापुर, राजघटा, जोलाही, बेहरीलगायतका टोलहरू अहिले मकै खेतीले हरियाली छाएको छ ।
बारामा सिम्रौनगढ, महागढीमाई, कोल्हवी, निजगढ नगरपालिका, फेटा, करैयामाई, बारागढी, आदर्शकोतवाल, सुवर्ण गाउँपालिकाका किसानहरू मकै खेती गर्दै आएका छन् ।
प्रतिक्रिया राख्नुहोस्