झापामा १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
झापा । राष्ट्रिय खेलकुद परिषद्को तत्त्वावधान र झापा जिल्ला खेलकुद विकास समितिको आयोजनामा आजदेखि झापा जिल्ला स्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ ।

भद्रपुरस्थित मेची रङ्गशालामा झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेषराज भण्डारी ‘प्रशान्त’को अध्यक्षतामा आयोजित समारोहका बीच कोशी प्रदेशका पर्यटन वन तथा वातावरण मन्त्री सदानन्द मण्डलले उद्घाटन गर्नुभयो ।
उहाँले खेलकुदलाई पर्यटनसँग जोड्नुपर्ने बताउँदै खेल पर्यटन प्रवद्र्धनका लागि प्रदेश सरकारले योजना बनाउने उल्लेख गर्नुभयो । उहाँले प्रतियोगिताको सबै विधाका खेलको छुट्टाछुट्टै शुभारम्भ गर्नुभएको थियो ।
उद्घाटन समारोहमा भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलले राष्ट्रपति रनिङ शिल्ड खेलकुदको पहिलो खुड्किलो भएको बताउँदै यसले खेलाडीहरूलाई अगाडि बढ्न सहयोग पुर्याउने बताउनु भयो ।
समितिका सदस्य चेतामणि खनाल र कराते प्रशिक्षक दुर्गाराज निरौलाले संयुक्त रुपमा सञ्चालन गरेको समारोहमा अध्यक्ष भण्डारीले सरकारका कुनै पनि निकायबाट हालसम्म बजेट विनियोजन नभए पनि निजी क्षेत्र र दाताहरूको सहयोगमा झापामा प्रतियोगिता सञ्चालन गरिएको बताउँदै प्रतियोगिताका लागि बजेट निकासा गरिदिन सरोकारवाला सकारी निकायलाई आग्रह गरेका छन् ।
प्रतियोगितामा झापाका १५ वटै स्थानीय तहको सहभागिता रहेको छ । माध्यमिक तहमा अध्ययनरत १४ देखि १८ वर्षसम्मका करिब दुई हजार खेलाडीले ६ वटा विधामा प्रतिस्पर्धा गर्दै छन् ।
प्रतियोगिता उद्घाटन समारोहमा सबै विद्यालयका खेलाडीहरूले मार्चपास गरेका थिए भने उसु खेलको प्रदर्शनी गरिएको थियो ।
प्रतियोगिता आइतबारसम्म सञ्चालन हुनेछ ।
यस वर्ष राष्ट्रपति रनिङ शिल्डमा एथलेटिक्स (छात्र/छात्रा), भलिबल (छात्र/छात्रा), कबड्डी (छात्र/छात्रा), कराते (छात्र/छात्रा), तेक्वान्दो (छात्र/छात्रा) र उसु (छात्र/छात्रा) खेल समावेश रहेको झापा जिल्ला खेलकुद विकास समितिका कार्यालय सचिव विष्णुकुमार नेम्बाङले जानकारी दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्