तपाईँ सुन्दै हुनुहुन्छः

एचआइभी सङ्क्रमितः सङ्घर्षसँगै सफलता

चितवन ।  जिल्लाको राप्ती नगरपालिका निवासी नम्रता गुरुङ (नाम परिवर्तित) अहिले प्राथमिक तहको शिक्षिकाका रूपमा कार्यरत हुनुहन्छ । उहाँ एचआइभी (ह्युमन इम्युनोडेफिशियन्सी भाइरस) एड्स सङ्क्रमित हुनुहुन्छ ।

गुरुङलाई कक्षा १२ पढिसकेपछि एचआइभी सङ्क्रमण देखिएको थियो । आफू छ–सात वर्षको उमेर हुँदा आमाको मृत्यु भएको बताउँदै उहाँले कक्षा १० मा पढ्दापढ्दै बुबाको भारतमा मृत्यु भएपछि काकाकाकीसँगै बस्दै आएको उल्लेख गर्नुभयो । आफूलाई एचआइभी सङ्क्रमण भएपछि जीवन सक्किएको महसुस गरे पनि निरन्तर मेहनत र सङ्घर्ष गरेपछि अहिले शिक्षा सेवामा स्थायी हुन सफल भएको उहाँले बताउनुभयो ।

गुरुङले भन्नुभयो, “सानै उमेरमा बुबाआमा गुमाउन पुगेपछि समाजलाई केही गरेर देखाउनु छ भन्ने उद्देश्यले मेहनत गर्दा दोस्रो पटकमा सफलता हात पारेकी हुँ ।” यसले केही गर्न सक्दैन भन्ने समाजलाई केही गरेर देखाउँछु भन्ने अठोटका साथ लागे गर्न सकिने उहाँको भनाइ छ ।

आफ्नो जीवनमा पाएको दुःखकष्ट सम्झदै उहाँले भन्नुभयो, “आमाको मृत्यु पछि कान्छी आमाले पढ्नलेख्न खर्च नदिँदा निकै दुःख लागेर आउथ्यो । अहिले आफ्नो खुट्टामा उभिएकी छु ।” आमाबुबाको मृत्युपछि सामाजमा आउने र पढ्न चाहनेलाई प्रौढ कक्षा पढाउने, कतिपय अवस्थामा दैनिक ज्यालादारी गर्दै कक्षा १२ सम्मको अध्ययन सम्पन्न गरेको उहाँले स्मरण गर्नुभयो । उहाँले सम्झनुभयो, “पढ्ने रहर हुँदाहुँदै पढ्न सकिन अहिले बल्ल स्नातक तहमा भर्ना भएर दोस्रो वर्षमा अध्ययनरत छु ।”

परिवारको माया र सहयोग नपाउँदा नपाउँदै आफूलाई एचआइभी सङ्क्रमण पुष्टि भएपछि सुरुआती समयमा समाजमा बस्न निकै कठिन भएको गुरुङले सुनाउनुभयो । एचआइभी सङ्क्रमण देखिएपछि तीन महिना एएचएफ नेपालमा काम गर्नुभएकी उहाँले भारतमा रहेका एचआइभी एड्स सङ्क्रमितसँगै विवाहा गरेर भारत जानुभयो । 

भारतमा गएर श्रीमान् श्रीमती दुवैले काम गर्न थालेको बताउँदै गुरुङले आफ्नो एउटा छोरो रहेको जानकारी दिनुभयो । “छोरो अहिले नौ वर्षको भएको छ । कामसँगै पढाइलाई निरन्तर लगिरहेकाले दुःखको फल अहिले पाएको छु”, उहाँले भन्नुभयो । अहिले नियमित औषधि खाइरहेकाले स्वास्थ्यसँगै काममा कुनै समस्या नरहेको उहाँले बताउनुभयो । 

अनेक दुःख र सङ्घर्षका बीचमा निरन्तर मेहनत गरेपछि अहिले प्राथामिक तहमा स्थायी शिक्षकमा नाम निकाल्न सफल भएको जनाउँदै उहाँले भेद्भाव नभए निजामती सेवाअन्तर्गत अधिकृत बनेर देश र जनताको सेवा गर्ने इच्छा रहेको गुरुङले बताउनुभयो ।

विगत १८ वर्षदेखि एआरटी (एचआइभी सङ्क्रमितले सेवान गर्ने औषधि) औषधि सेवन गर्दै आउनुभएकी भरतपुर महानगरपालिका निवासी सविना पण्डित (नाम र थर परिवर्तित) अहिले एड्स सङ्क्रमितको संस्था राष्ट्रिय समन्वय संयन्त्रमा युवाबाट छनोट भएर काम गर्दै हुनुहुन्छ । 

उहाँले एड्स सङ्क्रमण भएको पुष्टि भएपछि औषधि सेवन गर्दा आफूलाई सुरुआती समयमा निकै कठिन भएको बताउँदै अहिले सहज हुँदै गएको जनाउनुभयो । “पहिला मैले केही गर्न सक्दिन भन्ने मनमा भावना आएको थियो । अब भने यो रोग सामान्य हो, आफूले आत्मबल बलियो बनाउन सके जितिन्छ भन्ने अवस्थामा पुगेकी छु । नियमित औषधि सेवन र आत्मबल रोगसँग लड्ने प्रमुख तत्व हुन्”, उहाँले भननुभयो । सङ्क्रमित युवाहरु खुलेर आउन सकेमा समाज परिवर्तन गर्न सकिने भन्दै उहाँले सङ्क्रमितका आवाजलाई सबैले सम्बोधन गर्न आग्रह गर्नभयो ।

भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्राडा कृष्णप्रसाद पौडेलले एचआइभी एड्स पछिल्लो समय सामान्य रोग जस्तै भएकाले आत्मबल बलियो बनाएर काम गर्न सके सफलता हात पार्न कठिन नहुने धारणा राख्नुभयो । यो रोग सामान्य भए पनि आत्मविश्वास भएमा जीवन सफल बनाउन सकिने उहाँको भनाइ छ ।

एचआइभी एड्स मानव प्रतिरक्षा प्रणालीलाई नष्ट पार्ने भाइरसको सङ्क्रमणका कारण हुने भएकाले नियमित औषधि सेवन र आत्मविश्वासले यो रोगसँग सहजै लड्न सकिने भरतपुर अस्पतालको एएचएफका कार्यक्रम संयोजक कृष्णहरी सापकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार अस्पतालको एएचएफ कार्यक्रमबाट एक हजार एक सय ९७ जनाले नियमित औषधि सेवन गरिरहेका छन् । यस संस्थाले महिलालाई औषधिसँगै प्रोत्साहनसमेत प्रहान गर्दै आएको उहाँको भनाइ छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button