भरतपुर मेयर्स कप क्रिकेट : लिग चरणका खेल सम्पन्न
चितवन । भरतपुर महानगरपालिकाको आयोजनामा जारी भरतपुर मेयर्स कप अन्तर विद्यालय क्रिकेट प्रतियोगिताको लिग चरणका खेलहरू सकिएका छन् ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा जारी प्रतियोगिताको लिग चरणको अन्तिम खेलमा नारायणी नमुना मावि १० विकेटले विजयी भयो ।

प्रेरणा इङ्लिस बोर्डिङ स्कुलले दिएको ७५ रनको झिनो लक्ष्य नारायणी नमुना माविले १०.४ ओभरमा बिना विकेट जित हासिल ग¥यो । नारायणीका ओपनर द्वय सबिन खरेल अविजित ३० र आयुष गिरीले अविजित १६ रन बनाए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको प्रेरणाले १९.३ ओभरमा अलआउट हुँदै ७४ रन बनाएको थियो । उसका लागि तौसिन अन्सारीले १६ र अजय ज्ञवालीले ११ रन बनाए । नारायणी नमुना माविका सन्देश खनालले ३ र निखिल चापागाईँले २ विकेट लिए । खेलमा नारायणी नमुनाका सन्देश खनाल प्लेयर अफ दि म्याच घोषित भए ।
लिग चरणबाट ४ टिम सेमिफाइनलमा प्रवेश गरेका छन् । समूह ‘ए’ बाट साविक विजेता अर्किड सेकेण्डरी स्कुल शतप्रतिशत जित निकाल्दै ८ अङ्कका साथ शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा प्रवेश गरेको छ भने ६ अङ्कका साथ दोस्रो स्थानमा रहँदै चितवन मावि सेमिफाइनलमा स्थान बनाएको छ । यो समूहबाट साविक उपविजेता वाल्मीकि शिक्षा सदन, नारायणी इङ्लिस पब्लिक स्कुल र हिमालय दण्डपाणि मावि लिग चरणबाटै बाहिरिएका छन् ।
यस्तै समूह ‘बी’ बाट शतप्रतिशत जित निकाल्दै ८ अङ्कका साथ शीर्षस्थानमा रहेर नारायणी नमुना मावि सेमिफाइनलमा स्थान बनाएको छ भने समूह उपविजेता बन्दै चितवन मावि पनि सेमिफाइनलमा स्थान बनाएको छ । यस समूहबाट पहिलो संस्करणको सेमिफाइनालिस्ट सनराइज इङ्लिस स्कुल, अरोमा इङ्लिस स्कुल र प्रेरणा इङ्लिस बोर्डिङ स्कुल लिग चरणबाटै बाहिरिएका छन् ।
प्रतियोगिताको सेमिफाइनल खेलहरू मङ्गलवारबाट सुरु भएको छ । सेमिफाइनलमा अर्किडले लक्ष्मी मावि र नारायणी नमुना माविले चितवन माविको सामना गर्नेछ । प्रतियोगितामा कुल ४७ विद्यालयको सहभागिता रहेको छ ।
प्रतिक्रिया राख्नुहोस्