तपाईँ सुन्दै हुनुहुन्छः

खड्गीलाई राष्ट्रिय पुरुष टोलीको सहायक प्रशिक्षकको जिम्मेवारी

काठमाडौँ । अखिल नेपाल फुटबल संघ ( एन्फा) ले सल्यान खड्गीलाई राष्ट्रिय पुरुष टोलीको सहायक प्रशिक्षकको जिम्मेवारी सुम्पिएको छ ।

खड्गीलाई मङ्गलवार एन्फा महासचिव किरण राईले नियुक्ति पत्र हस्तान्तरण गर्नुभयो । खड्गीले मार्च २१ मा सिंगापुरसँग मैत्रीपूर्ण र मार्च २५ मा मलेसियासँग एएफसी एसियन कप छनोट २०२७ को खेलमा मुख्य प्रशिक्षक म्याट रसलाई सहयोग गर्नुहुनेछ ।

यसैगरी एन्फाले विनोद महर्जनलाई गोलकिपर प्रशिक्षक, नुकल हमाल ठकुरी र रमेशकुमार कार्कीलाई व्यवस्थापक तथा निशान्त जोशीलाई फिजियोथेरापिस्टको जिम्मेवारी दिएको छ ।  

नेपाली राष्ट्रिय फुटबल टोलीका नवनियुक्त मुख्य प्रशिक्षक म्याट रसले सिंगापुर विरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्न र मलेसिया विरुद्धको एएफसी एसियाली कप छनोट खेलका लागि ३० जना खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाउनुभएको छ ।

युवा सुवास बमले पहिलो पटक सिनियर टोलीको बन्द प्रशिक्षणमा स्थान बनाएका छन् । नेपालले मार्च २१ मा सिंगापुरसँग मैत्रीपूर्ण र मार्च २५ मा मलेसियासँग एएफसी एसियन कप छनोट २०२७ को खेल खेल्दै छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button