मकवानपुरका माझी समुदायले लदी पर्व मनाए

मकवानपुर । मकवानपुरका अल्पसङ्ख्यक समुदायअन्तर्गत पर्ने माझी समुदायले मङ्गलवार लदी पर्व (कोशी पूजा) मनाएका छन् । जिल्लाको बागमती र बकैया गाउँपालिकामा बसोबास गर्ने माझी समुदायले बकैया–६, जुईनामा विशेष कार्यक्रमको आयोजना गरेर धुमधामका साथ लदि पर्व मनाएका हुन् ।
सीमान्तकृत माझी समुदायले प्रत्येक वर्ष फागुन महिनाको तेस्रो मङ्गलवार सामूहिक रुपमा पूजा गरेर विशेष पर्वका रुपमा ‘लदी’ अर्थात् नदी पूजा गर्ने चलन छ । नदीमा माछा मार्दा र डुङ्गा तार्दा मानवीय क्षति नहोस् भन्ने कामनासहित बर्सेनि माझी समुदायले लदी पर्वको दिन नदी किनारमा जम्मा भई विशेष पूजाआजा गर्ने गर्दछन् ।
नदी छेउमा गई बोका, पाठी, परेवा र कुखुराको बली दिने र मौलिक विधिद्वारा नदीको पूजा गरेर लदी पर्व मनाइन्छ । लदी पर्वको अवसरमा माझी समुदायको बाहुल्य रहेको मकवानपुरको बागमती र बकैया गाउँपालिकाले आज सार्वजनिक बिदा समेत दिएको छ ।
प्रतिक्रिया राख्नुहोस्