हेटौँडामा सहरको परिकल्पनाकार टोनी हेगनको शालिक अनावरण
मकवानपुर । हेटौँडामा स्विस नागरिक एवम् हेटौँडा सहरको परिकल्पनाकार भूगर्भविद् डा. टोनी हेगनको अर्धकदको शालिक अनावरण गरिएको छ ।

हेटौँडामा मानव बस्तीको परिकल्पना गर्नुभएका डा. हेगनको सम्मानमा हेटौँडा उपमहानगरपालिकाले हेटौँडा–१० मा टोनी हेगन स्मृति पार्क निर्माण गरेको छ । सोही पार्कमा निर्माणाधीन हेगनको अर्धकदको शालिक मङ्गलवार एक कार्यक्रमबीच अनावरण गरिएको हो ।
हेटौँडा–१० टिसिएन स्थित नेत्र ज्योति टोलको १ बिगाह ४ कठ्ठा साँढे १७ धुर जग्गामा गुरुयोजना अनुरुप टोनी हेगन स्मृति पार्क निर्माण भइरहेको छ । टोनी हेगनकी छोरी डा. क्याट्रिना हेगन नेपाल आएको अवसर पारेर शालिक अनावरण गरिएको डा. टोनी हेगन स्मृति पार्क विकास मञ्चका अध्यक्ष इन्द्रप्रसाद नेपालले जानकारी दिनुभयो । शालिक अनावरण कार्यक्रममा मेयर मिनाकुमारी लामा, निवर्तमान मेयर हरिबहादुर महत लगायतको सहभागिता थियो ।

हेटौँडाकै मूर्तिकार लक्ष्मण भुजेलले हेगनको अर्धकदको शालिक ६ लाख रुपैयाँ लागतमा निर्माण गर्नुभएको हो । टोनी हेगन पार्क निर्माणमा हालसम्म २ करोड ९ लाख ८१ हजार रुपैयाँ खर्च भइसकेको बताइएको छ । पार्क निर्माणमा हेटौँडा उपमहानगरपालिका, १० नम्बर वडा कार्यालय, बागमती प्रदेश सरकार मातहतका मन्त्रालयहरू, संघीय संसद्को सांसद विकास कोष, हेटौँडा खानेपानी व्यवस्थापन बोर्ड, प्रदेश सरकार मातहतको डिभिजन वन कार्यालयको बजेट खर्च गरिएको छ ।
प्रतिक्रिया राख्नुहोस्