तपाईँ सुन्दै हुनुहुन्छः

असुरक्षित भएको बर्जूका कर्मचारीको गुनासो

सुनसरी । सुनसरीको बर्जू गाउँपालिकाका कर्मचारीहरूले आफूहरू असुरक्षित भएको गुनासो गरेका छन् । बर्जूका कर्मचारीहरूले संयुक्त रूपमा गाउँपालिका अध्यक्षलाई सम्बोधन गर्दै मङ्गलवार बर्जू गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय अमाहीवेल्हामा ज्ञापन पत्र बुझाएका छन् । 

ज्ञापनपत्रमा भनिएको छ, ‘२०८१ साल फागुन २० गतेका दिन यस बर्जू गाउँपालिकाको प्रशासन शाखामा अन्दाजी १०:४५ बजेको समयमा कर्मचारी बैठकका लागि उपस्थित भएका गाउँपालिकाका पूर्वाधार शाखा प्रमुख (इन्जिनियर) रोशन गुप्तालाई बर्जू गाउँपालिका वडा नं.६ निवासी श्रवण कुमार चौधरीले अभद्र व्यवहार गरेकोले असुरक्षित भएका छौँ ।’

ज्ञापनपत्रमा उल्लेख गरिएअनुसार बर्जू प्रशासन शाखामा कर्मचारीको बैठक बसिरहेको समयमा एक्कासी प्रवेश गरी ‘मलाई चिन्छस्? म को हो?’ भन्दै गाली गलौच गरेको र मिति २०८१–११–१९ गते निजले प्रमुख प्रशासकीय अधिकृत, विपद व्यवस्थापन शाखा प्रमुख, योजना शाखा प्रमुख लगायत सम्पुर्ण कर्मचारीहरूलाई अपमानजनक शब्द प्रयोग गरी गालीगलौज गरेकोले सम्पुर्ण कर्मचारीको काम गर्ने मनोबल खस्किएको छ । ‘राष्ट्रसेवक कर्मचारीमाथि कार्यस्थलमा अमानवीय व्यवहार एवम् घटनाको घोर भत्सर्ना एवम् निन्दा गर्दै अविलम्ब सत्यतथ्य छानविन गर्दै दोषी उपर कडा भन्दा कडा कारबाहीको लागि जोडदार माग गर्दछौँ’ भनिएको छ ।

ज्ञापनपत्रमा बर्जू गाउँपालिकामा कार्यरत सम्पुर्ण कर्मचारीले संयुक्त हस्ताक्षर गर्नुभएको छ । उक्त ज्ञापनपत्रको बोधार्थ जिल्ला प्रशासन कार्यालय, सुनसरी, बर्जूका उपाध्यक्ष, वडाध्यक्षहरूलाई दिइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button