पर्यटन क्षेत्रको विकासका लागि सबैलाई असल व्यवहार गर्न जरुरी छ : गृहमन्त्री लेखक
रुपन्देही । गृहमन्त्री रमेश लेखकले पर्यटन क्षेत्रको विकास गर्न सबैलाई असल व्यवहार गर्न जरुरी रहेको बताउनुभएको छ ।
रुपन्देहीको बेलहियास्थित अध्यागमन कार्यालयको आज एक कार्यक्रमबीच उद्घाटन गर्दै उहाँले अध्यागमन कार्यालयमा कार्यरत कर्मचारीलाई पर्यटक र आम सेवाग्राहीसँग नम्र, सरल र मिठासपूर्ण व्यवहार गर्न आग्रह गर्नुभयो । कर्मचारीको व्यवहारले नै मुलुकको अवस्था बताउने उल्लेख गर्दै गृहमन्त्री लेखकले सचेत भएर सौहार्दपूर्ण तरिकाले सेवा दिन कर्मचारीलाई निर्देशन दिनुभयो ।

गृहमन्त्री लेखकले यहाँ निर्माण गरिएका पूर्वाधारले रुपन्देहीको बेलहिया नाकालाई मुलुककै ठूलो नाकाका रुपमा स्थापित गरेको बताउनुभयो । मुलुकका सीमा क्षेत्रमा १३ अध्यागमन कार्यालय रहेका र ती कार्यालयले पर्यटकलाई नेपालमा घुमफिर गर्न सहज बनाएको उहाँको भनाइ थियो ।
नेपालीहरू संसारकै सबैभन्दा राम्रो संस्कृतिमा हुर्किएका नागरिक भएको उल्लेख गर्दै गृहमन्त्री लेखकले अध्यागमन कार्यालयमा जस्तो व्यवहार हुन्छ, नेपालबारे पर्यटकले त्यही बुझ्ने बताउनुभयो । वर्तमान सरकारले समृद्धिलाई पछ्याइरहेको उहाँको भनाइ थियो । सरकारले संविधानको रक्षा गर्दै मुलुकमा दिगो शान्ति, विकास र समृद्धिलाई प्राथमिकतामा राखेर काम गरिरहेको उहाँले बताउनुभयो ।
पछिल्लो समय मुलुकको अर्थतन्त्रमा राम्रा सङ्केतहरू देखापरेको गृहमन्त्री लेखकले बताउनुभयो । “सरकारका कामको निजी क्षेत्रबाट प्रशंसा भएको छ । हामीले अर्थतन्त्रमा देखिएका समस्या हल गर्न केही अध्यादेश जारी गरेका छौँ, ती अध्यादेशमा समेटिएका विषयवस्तुको सबैले प्रशंसा गर्दै छिटो कार्यान्वयनमा लैजानुपर्ने सुझाव दिएका छन्”, उहाँले भन्नुभयो । गृहमन्त्री लेखकले अध्यादेश केही समयमै पारित हुने र आर्थिक क्षेत्रमा थप सुधार आउने दाबी गर्नुभयो ।
सोही कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँले लुम्बिनीको प्रवेशद्वार भएकाले यहाँको विकासमा लागिपरेको बताउनुभयो । सीमा क्षेत्रको सडक लामो समय नबन्दा धुलोले स्थानीय र पर्यटकलाई हैरानी भएको उहाँको भनाइ थियो ।
रु १० करोड २५ लाखको लागतमा उक्त कार्यालय भवन निर्माण गरिएको हो । अपाङ्गमैत्री र भूकम्प प्रतिरोधी रहेको यो भवनमा अग्नि नियन्त्रण उपकरण जडित छ ।
प्रतिक्रिया राख्नुहोस्