‘समृद्ध नेपाल, सुखी नेपाली अभियान सफल बनाउन बुद्धिजीवीको साथ जरुरी’
जनकपुरधाम । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले समृद्ध नेपाल, सुखी नेपाली अभियान नेपाली मोडेल भएकाले यसलाई सफल बनाउन बुद्धिजीवी वर्गको साथ आवश्यक भएको बताउनुभएको छ ।

नेपाल बुद्धिजीवी परिषद् धनुषाको छैटौँ जिल्ला अधिवेशनको जनकपुरधाममा उद्घाटन गर्दै उहाँले वर्तमान प्रधानमन्त्री एवं सरकारले घोषणा गरेको सो अभियान अनुसार मुलुकमा विकास निर्माण सहितको काम भइरहेको बताउँदै यसलाई पूर्ण रुपमा सफल बनाउन बुद्धिजीवीहरूको साथ र सहयोग आवश्यक भएकोमा जोड दिनुभयो ।
वरिष्ठ उपाध्यक्ष पोखरेलले सामुदायिक विद्यालय, कलेजको अवस्था कमजोर भएको, कृषि क्षेत्र पछाडि परेको र मुलुकका धेरै कृषि योग्य जग्गा बाँझो अवस्थामा नै रहेकाले यी सबैको सुधारका लागि बुद्धिजीवीहरू गम्भीर बन्न जरुरी रहेको बताउनुभयो ।
नेकपा एमालेका केन्द्रीय सदस्य उमाशङ्कर अरगरीयाले देश बनाउने अभियानमा नेकपा एमाले नेतृत्वको सरकार लागिपरेको बताउँदै यसको उदाहरणको रुपमा रहेको सुरुङ मार्गको निर्माण, सडक, रेल तथा अन्य क्षेत्रमा धेरै राम्रा राम्रा काम भइरहेको बताउनुभयो ।
नेपाल बुद्धिजीवी परिषद् धनुषाका अध्यक्ष रामचन्द्र यादवको अध्यक्षतामा भएको सो कार्यक्रममा परिषद्का प्रदेश अध्यक्ष डा. अर्जुन सिंह, नेकपा एमाले धनुषाका उपाध्यक्ष भोला यादव, प्रेस चौतारी नेपाल धनुषाका अध्यक्ष अवधेश कामत सहितका वक्ताहरूले बोल्नुभएको थियो ।
प्रतिक्रिया राख्नुहोस्