तपाईँ सुन्दै हुनुहुन्छः

विधायन समिति बैठक : पानीजहाज सञ्चालन सम्बन्धी विधेयकमा छलफल

काठमाडौँ । राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा पानीजहाजको सञ्चालन तथा व्यवस्थापनसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८१ माथि सैद्धान्तिक छलफल भएको छ ।

समितिको बैठकमा पूर्व मन्त्री एवम् कानूनविज्ञ माधवप्रसाद पौडेलले नेपालमा जलायानहरु सञ्चालनका साथै अन्तर्राष्ट्रिय जलमार्गमा नेपाली झन्डावाहक जहाज सञ्चालन गर्न सकिने गरि सरकारले ल्याएको विधेयक ऐतिहासिक हुने बताउनुभयो । 

उहाँले पानीजहाज सञ्चालन गर्ने कानूनी व्यवस्था भएपछि लगानीका ढोका खुल्ला हुने हुँदा पानी जहाजलाई उद्योगका रुपमा लैजान सुझाव दिनुभयो । 

नेपालको कुन नदीमा बन्दरगाह निर्माण गर्ने र त्यसको संरचना कस्तो हुने भन्ने विषय स्पष्ट हुने तोकेर विधेयक अघि बढाउन पनि कानुनविद् पौडेलले सुझाव दिनुभयो । 

बैठकमा सांसदहरुले जल मार्ग संकेतनहरुको विषयलाई पनि विधेयकमा समावेश गर्नु,आन्तरिक जलमार्गहरूलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो । 

सांसदहरुले नेपाली नदीनालामा सञ्चालन गरिने जलयानका लागि र अन्तर्राष्ट्रिय समुद्रहरूमा पानीजहाज सञ्चालन गर्नका लागि अलग अलग व्यवस्था गर्नुपर्ने र नेपालभित्र बन्दरगाह तोक्ने विषयलाई पनि विधेयकले सम्बोधन गर्नुपर्नेमा जोड दिनुभयो । 

समिति सभापति तुलसा कुमारी दाहालले पानीजहाज सञ्चालनसम्बन्धी विधेयकलाई विज्ञ र सरोकारवालाहरूसँग बृहत् छलफल गरी समृद्ध बनाएर अगाडि बढाउने प्रतिबद्धता जनाउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button