भोजपुर नगरमा ‘विद्यालय बालबालिकासँग उपमेयर’ कार्यक्रम

भोजपुर । भोजपुर नगरपालिका क्षेत्र भित्रका विद्यालयहरूमा ‘विद्यालय बालबालिकासँग उपमेयर’ कार्यक्रम सुरु भएको छ ।
भोजपुर नगरपालिकाका उपप्रमुख निर्मला शेर्पाले सामुदायिक विद्यालयहरूमा यो अभियान सुरु गर्नुभएको हो ।
सामुदायिक विद्यालयहरूमा विद्यार्थी सङ्ख्यामा कमी हँुदै जानु, निजी विद्यालयहरूमा जस्तो पठनपाठन सामुदायिक विद्यालयहरूमा नहुने जस्ता गुनासो आइरहेको अवस्थामा शैक्षिक सुधार र गुणस्तरीयताका लागि उपप्रमुख शेर्पाले शिक्षाको ज्योतिबाट कुनै पनि बालबालिका वञ्चित हुनु नपरोस् भन्ने मूल नाराका साथ विद्यालय बालबालिकासँग उपमेयर अभियान सुरु गर्नुभएको हो ।

बाल कक्षादेखि सञ्चालनमा रहेका आधारभूत विद्यालय र माध्यमिक विद्यालयमा पुगेर उपप्रमुख शेर्पाले विद्यार्थीहरूका लागि झोला वितरण, शिक्षक शिक्षिकाहरूलाई प्रोत्साहन गर्न सम्मान, बालबालिकहरुलाई न्यानो कपडा वितरण, विद्यालयलाई प्रविधियुक्त सामाग्री हस्तान्तरण लगायतका कार्यक्रमहरू सञ्चालन गरिरहनुभएको छ ।
विद्यालयमा भएको यस्तो अभियानले विद्यार्थीहरूलाई पनि प्रोत्साहन गरेको भोजपुर नगरपालिका वडा नम्बर ८ मा रहेको सरस्वती आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नवीन प्रधानले बताउनुभयो । अध्यक्ष प्रधानले भन्नुभयो, “आफ्ना नानीहरूलाई निजी विद्यालयहरूमा लाने क्रम बढी रहँदा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरीयतामा सुधार ल्याउन प्रोत्साहन गर्न थालिएको अभियान राम्रो छ ।”
नगर क्षेत्रका बिद्यालयहरुलाई प्रोत्साहन गर्न आफूले अभियान सुरु गरेको उपप्रमुख शेर्पाले बताउनुभयो । उपप्रमुख शेर्पाले भन्नुभयो, “नगर क्षेत्र भित्र रहेका विद्यालयहरूको शैक्षिक सुधारका लागि प्रत्येक बर्ष विभिन्न कार्यक्रम सञ्चालन हुँदै आई रहेको छ, सोही अभियान अन्तर्गत अहिले विद्यालय बालबालिकासँग उपमेयर कार्यक्रम चल्दै छ ।” यसले सामुदायिक विद्यालयलाई केही सुधार गर्न सकिन्छ भन्ने विश्वास पनि हो ।
शैक्षिक क्षेत्रका सुधारका लागि आगामी दिनमा पनि यस्ता कार्यक्रमहरू निरन्तर सञ्चालन हुने उपप्रमुख शेर्पाको भनाई रहेको छ ।
प्रतिक्रिया राख्नुहोस्