तपाईँ सुन्दै हुनुहुन्छः

खानेपानीमन्त्री यादव नयाँ दिल्लीमा

काठमाडौँ । खानेपानी मन्त्री प्रदीप यादव भारतको राजधानी नयाँ दिल्ली पुग्नुभएको छ । 

भारतको जलशक्ति मन्त्रालयमा आयोजना हुने खानेपानी, सरसफाइ तथा स्वच्छता (वास) क्षेत्रको विकाससम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गर्न उहाँ आज नेपालको प्रतिनिधित्व गर्दै त्यहाँ पुग्नुभएको हो ।

आज नेपाली दूतावासमा आयोजित विशेष कार्यक्रममा भारतका लागि नेपाली राजदूत शङ्करप्रसाद शर्मा, भारतीय विदेश मन्त्रालयका नेपाल हेर्ने प्रोटोकल अफिसर तुसारअंश शर्मालगायत उच्च अधिकारीहरूले मन्त्री यादवलाई स्वागत गर्नुभएको थियो ।  

यही फागुन १९ गते हुने उक्त समझदारीपत्रमा नेपाल सरकारका तर्फबाट मन्त्री यादव र भारत सरकारका तर्फबाट जलशक्ति मन्त्री सिआर पाटिलले हस्ताक्षर गर्ने कार्यक्रम तय भएको खानेपानी मन्त्रालयले जनाएको छ ।

नेपाल र भारतबीच खानेपानी, सरसफाइ तथा फोहोर व्यवस्थापनलगायत महत्वपूर्ण क्षेत्रमा आपसी सहयोग विस्तार गर्न समझदारीपत्रमा हस्ताक्षर गरिने मन्त्रालयका उपसचिव भक्तराज जोशीले जानकारी दिनुभयो । 

उहाँका अनुसार यस सम्झौताले नेपालमा खानेपानीको स्रोतको विकास, स्वच्छ पानीको पहुँच विस्तार, सरसफाइ प्रवर्द्धन तथा फोहोर व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । 

नेपाल–भारतबीचको आपसी समझदारी र सहकार्यलाई मजबुत बनाउने यो सम्झौता दुवै देशका नागरिकका लागि लाभदायक हुने विश्वास गरिएको छ । गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले खानेपानीमन्त्री यादवको भारत भ्रमण स्वीकृति गरेको थियो । 

मन्त्री यादव मङ्गलबार स्वदेश फर्किनु हुने कार्यक्रम तय भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button