‘सार्वजनिक सेवा प्रसारणमा एनटिभी इटहरी’ विषयक विचार गोष्ठी सम्पन्न
काठमाडौँ । सार्वजनिक सेवा प्रसारण नेपाल टेलिभिजन इटहरी च्यानलको आयोजनामा सार्वजनिक सेवा प्रसारणमा एनटिभी इटहरी विषयक विचार गोष्ठी सम्पन्न भएको छ ।
नेपाल टेलिभिजन इटहरी च्यानलमा आयोजित विचार गोष्ठीलाई सम्बोधन गर्दै सार्वजनिक सेवा प्रसारण नेपालका अध्यक्ष डा. महेन्द्र विष्टले पिएसबीले मुख्य तीन वटा मुख्य विषयहरूलाई आत्मसाथ गरेको बताउनुभएको छ । राष्ट्रिय एकता, विपद् र समृद्धिको विषयलाई पिएसबीले विशेष प्राथमिकता दिएर राष्ट्रिय एकताभित्र राष्ट्रका सम्पूर्ण भाषा, संस्कृति, धर्म, वर्ण लिङ्ग सबैलाई समेटेर लिएर जाने अध्यक्ष विष्टले बताउनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै सार्वजनिक सेवा प्रसारण नेपाल सञ्चालक समितिका सदस्य डा. भूमिराज चपागाईंले पिएसबीले प्रसारण गर्ने कार्यक्रमहरू सर्वसाधारण नागरिक केन्द्रित हुनुपर्ने बताउनुभयो । रेडियो नेपाल र नेपाल टेलिभिजन पिएसबीमा रूपान्तरण भएपछि रेडियो र टेलिभिजनले प्रसारण गर्ने समाचार तथा कार्यक्रमहरूमा सर्वसाधारण नागरिकको अपनत्व देखिनुपर्नेमा उहाँले जोड दिनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा सार्वजनिक सेवा प्रसारण नेपाल एनटिभी इटहरी च्यानल प्रमुख बसन्त रुपाखेतीले कोशी प्रदेश र मधेश प्रदेशका विभिन्न गतिविधिहरूलाई प्राथमिकताका साथ एनटिभी इटहरीले प्रसारण गर्दै आएको अवगत गराउनु हुँदै रेडियो नेपाल र नेपाल टेलिभिजन एउटै संस्थामा रूपान्तरण भएपछि आवाजविहीन जनताहरूको आवज उजागर गर्ने विषयमा काम गर्न थप सहज भएको बताउनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै सार्वजनिक सेवा प्रसारण रेडियो नेपालका योजना विकास तथा विस्तार महाशाखा प्रमुख पुष्कर राज गौतमले पिएसबी कार्यान्वयनमा आएसँगै दुई वटै संस्थाहरूले कार्यक्रम तथा समाचार उत्पादनमा समन्वय र सहकार्य गर्नुपर्ने बताउनुभयो । साथै उहाँले रेडियो नेपालका सामाग्रीहरू टेलिभिजनका लागि समेत प्रयोगमा ल्याउन सकिने विचार व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेपाल टेलिभिजन इटहरी च्यानल र रेडियो नेपालका कर्मचारीहरूको सहभागिता रहेको थियो ।
प्रतिक्रिया राख्नुहोस्