चान्सी चोन : चीनको समाजवादी गाउँ

छेन्डु, चीन । विकासको लागि प्रविधिसँगै सामूहिकता र प्रतिबद्धता आवश्यक हुन्छ भन्ने उदाहरण चीनको सिचुवान प्रान्तस्थित छेन्डुको चान्सी चोन गाउँ बनेको छ ।
सामूहिकता र प्रतिबद्धताकै कारण चान्सी चोन गाउँले झण्डै २० वर्षको अवधिमा आर्थिक एवम् सामाजिक रूपमा निक्कै फड्को मारेको चान्सी चोनका चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी)का सचिव काओ बताउनुहुन्छ । “२० बर्ष अघिसम्म यो गाउँका बासिन्दाले अलग अलग ढङ्गले खेतीपाती र व्यवसाय गर्दै आएका थिए । त्यसले उनीहरूको आर्थिक अवस्थामा सुधार हुन सकेको थिएन । तर अहिले हरेक परिवार सम्पन्न छन्”, सचिव काओले भन्नुभयो ।
“चान्सी चोनमा अहिले समाजवादी अभ्यास सुरु भएको छ”, सचिव काओले भन्नुभयो, “अहिले सामूहिक खेती र व्यवसाय सुरु भएपछि रोजगारीको लागि बाहिर जानुपर्दैन ।” चान्सी चोनका स्थानीयले अहिले बाहिरका व्यवसायीहरूलाई खेतीको लागि सामूहिक रूपमा जमिन भाँडामा दिएका छन् । त्यस बापत उनीहरूले मासिक तीन देखि १० हजार आरएमविसम्म लिने गरेका छन् । गाउँमै व्यवसायीक खेती सुरु भएपछि रोजगारीको लागि अन्यत्र जानुपर्ने अवस्था समेत नरहेको सचिव काओ बताउनुहुन्छ ।
चान्सी चोन गाँउमा १ हजार २ सय घर धुरी र ४ हजार ५ सय जनसङ्ख्या रहेको छ । यो गाँउमा चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) का एकसय ७० जना सदस्य रहेको र पाँच जनाको सिपिसी गाउँ कमिटी रहेको सचिव काओको भनाई छ ।

समाजवादी गाउँको अगुवाइ सिपिसी कमिटीले गरेको सचिव काओले बताउनुभयो । गाउँका प्रत्येक परिवारको लागि सिपिसीले निश्चित शुल्क लिएर घर बनाई दिएको र सामूहिक आर्थिक अभियानको नेतृत्व पनि सिपिसीले नै गरेको छ ।
स्थानीय लिउ सो मिङ चान्सी चोन समाजवादी गाउँ बनेपछि सबैको आर्थिक विकास भएको र रोजगारीको लागि अन्यत्र धाउनुपर्ने अवस्थाको अन्त्य भएको बताउनुहुन्छ । चान्सी चोनमा विगतमा पानी, बिजुली जस्ता आधारभूत कुराको समस्या देखिएकोले सामूहिक अभियान सुरु भएको स्थानीय लिउ सो मिङ बताउनुहुन्छ ।
सिपिसीले प्रत्येक पाँच वर्षमा परिवार सङ्ख्या गणना गरि सोही अनुसार घर, जग्गा, जमिन लगायतको व्यवस्थापन गर्ने र सामुदायिक रूपमा शिक्षा, स्वास्थ्य जस्ता कुरा सञ्चालन गरिने सिपिसी सचिव काओको भनाई छ ।
समाजवादी गाउँ चान्सी चोनको मुख्य आम्दानीको स्रोत मस्रुम खेती र पर्यटन व्यवसाय रहेको यहाँका स्थानीय बताउँछन् । यो गाँउमा वार्षिक ११ लाखभन्दा बढी पर्यटक भित्रने गरेको सचिव काओले बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्