गोरखाको साम्दो क्षेत्रमा तीन फिट हिउँ, अवस्था बुझेर यात्रा गर्न प्रहरीको आग्रह
गोरखा । जिल्लाको चुमनुब्री गाउँपालिका–१ स्थित साम्दो क्षेत्रमा विगत तिन दिनदेखि परेको हिमपात अझै रोकिएको छैन ।

साम्दो हुँदै लार्केपास र चीनको रुइला नाका पुग्न सकिन्छ । लार्केपास गर्न आएका पर्यटकहरू साम्दोमा रोकिएका छन् । हिउँ तीन फिट भन्दा माथि रहेको प्रहरीले जनाएको छ ।
मौसमलाई चुनौती दिँदै यात्रा नगर्न सशस्त्र प्रहरीको सीमा सुरक्षा बल साम्दोले सूचना जारी गरेको छ । हिउँ पग्लेर बाटो सामान्य हुन समेत समय लाग्ने हुनाले मौसमबारे पूर्व जानकारी लिएर मात्र उत्तरी गोरखाको यात्रा गर्न प्रहरीले भनेको छ ।
साम्दो र लार्केपास क्षेत्रको मौसम बारे जानकारी दिन प्रहरीले हटलाइन नम्बर समेत प्रदान गरेको छ । १११४, ९८५१२६१२०० मा सम्पर्क गर्न सकिने सशस्त्र प्रहरी बलले जानकारी दिएको छ ।
साम्दोबाट सामागाउँ झर्दै गरेका पर्यटक गाइड आङफुर्वा शेर्पाका अनुसार सामा गाउँबाट नै माथि जान सक्ने अवस्था छैन ।
मनासलु क्षेत्रमा पर्यटकको दोस्रो सिजन सुरु हुन लागेको छ । यसका लागि पाहुनाको व्यवस्थापन गर्न गाइड स्थलगत अवलोकनमा जाने गर्दछन् । यस क्षेत्रमा मानिसहरू विगत तीन दिनदेखि घरभित्रै रहेको स्थानीयले बाबुलाल तामाङले बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्