तपाईँ सुन्दै हुनुहुन्छः

गुफा भित्र चार घण्टा बिताउँदा

बैतडी । आज भन्दा १२ बर्ष अघि २०७० साल चैत १२ गते एउटा फरक खालको रिपोर्टिङका लागि सूचना प्राप्त भयो । पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दको गाउँका स्थानीय बासिन्दा मोहन बिष्टले फोनबाट उक्त जानकारी दिनुभएको थियो। उहाँले भन्नुभएको थियो ‘पात्ताल भुमेश्वर गुफाको अध्ययन गर्न फ्रान्सबाट टोली आएको छ ।’

जिल्ला सदरमुकाम भन्दा १८ किलोमिटर पूर्वतर्फ सतबाँझ भन्दा केही पर सिउडेबाट २० मिनेट उकालो हिँड्दा पात्ताल भुमेश्वर पुग्न सकिन्छ । यहाँको रहस्यमय पात्ताल भुमेश्वर गुफाबारे यस अघि पनि केही समाचारहरू सम्प्रेषण गरिएका थिए । रमणीय सिद्धनाथ सामुदायिक वन क्षेत्रमा अनुमानित ८५ मिटर लम्बाइ र ४५ मिटर चौडाइ भएको तलाउ छ । छेउमा शिव मन्दिर र त्यही मुनी गुफा रहेको पात्ताल भुमेश्वर बैतडीको धार्मिक तथा पौराणिक र पर्यटकीय महत्व बोकेको ठाउँ हो ।

यहाँको गुफाबारे यकिन जानकारी कसैसँग थिएन । तर यसबारे विभिन्न लोक उक्तिहरू भने चलनचल्तीमा थिए ।

यो क्षेत्रका समाजसेवी स्व. जय बहादुर चन्द र कर्ण बहादुर बिष्टले पौराणिक कालमा राक्षस र देउताहरूको बीच युद्ध हुँदा राक्षसबाट पराजित देवगणहरू पात्तालतर्फ जान गुफाको प्रयोग गर्ने बताएका छन् । पात्ताल जाने गुफा भएकाले यसको नाम पात्ताल भुमेश्वर गुफा रहेको उनीहरूको दाबी छ । शिवजीले पात्ताल जाने देवताहरूका लागि पानी पिउन आफ्नो अस्त्र प्रयोग गरि तलाउ निर्माण गरेको किम्बदन्ती पनि सुनिन्छ । चन्द र बिष्टले यो गुफा दुई किलोमिटर लामो भएको र अन्तिम बिन्दुसम्म कोही पुग्न नसकेको बताएका छन् । 

यो गुफाबाट भित्र छिर्‍यो भने ७/८ किलोमिटर टाढाको सुर्नया नदीकाे किनार गाेपेश्वर धाम पुगिन्छ भन्ने कुरामा स्थानीयहरू विश्वास गर्छन् । महादेवले सतीदेवीको मृत शरीर बोक्दै यहाँसम्म पुगेको र सतीदेवीको पैताला खसेकाले यसको पात्ताल भुमेश्वर रहेको किम्बदन्ती पनि छ । गुफाभित्र ३३ कोटी देवगणहरूले बैठक बस्ने गरेका जस्ता किम्बदन्तीहरू यस गुफासँग जोडिएका छन् । 

गुफाबारे अध्ययन गर्न विज्ञ टोली नै आइसकेपछि केही नयाँ कुरा थाहा हुन सक्ने अपेक्षा सहित पत्ताल भुमेश्वरतर्फ लागियो ।

धनगढीमा होटेल तथा पर्यटन व्यवसायमा लागेका बैतडीकै बासिन्दा प्रकाश भट्टको अगुवाइमा फ्रान्सेली गुफा अध्येता ६७ वर्षीय मोरिस डुेसन् यहाँ आएका रहेछन् । उनको संस्था ‘इन्टरनेसन सेन्टर फर दि एक्सप्लोरेसन अफ दि हिमालयाज’ले गुफाबारे अध्ययन गर्ने भनेर पाँच जनाको समूह पात्ताल भुमेश्वरमा तयारी गरिरहेको थियो । वृद्ध शरीर, हातमा जिपिएस, टाउकोमा हेड लाइट लगाएका डुसेन आफ्ना सहयोगीहरू सहित गुफाको अध्ययन गर्न विभिन्न उपकरणहरुको चाँजोपाँजो मिलाउँदै गुफा बाहिर व्यस्त देखिन्थे । 

डुसेनसँग सामान्य कुरा भयो । उनले फ्रेन्च भाषा मात्र बोल्थे । हामीलाई नेपाली र अङ्ग्रेजी बोल्न आउँथ्यो, फ्रेन्च आउँदैनथ्यो । डुसेले फ्रेन्च र अङ्ग्रेजी बुझ्ने दोभासे साथमा ल्याएका रैछन् । उनकै माध्यमबाट हाम्रो संवाद सम्भव भयो । ‘जिपिएसको सहायताले गुफाको लम्बाइ र गहिराइ पत्ता लगाउने र नक्सा तयार पार्ने’ तयारीका साथ डुसेनको टोली बिहान ९ बजे गुफा भित्र पस्यो । उहाँलाई पछ्याउँदै केही स्थानीय व्यक्तिहरू डोरी र बत्ती लगायतका सामाग्री सहित डुसेनलाइ सघाउन गुफा पसे । ह्याण्डीक्याम र फ्ल्यास लाइट बोकेर मैले उनीहरूलाई पछ्याए । 

चारैतिर बाँज, कटुस र लालीगुराँसको एकनासको जङ्गल, बिचमा तलाउ, तलाउसँगै जोडिएको शिब मन्दिर र मन्दिरको दक्षिणपट्टि मुनीतिर पात्ताल भुमेश्वरको मूल गुफा सहित चार वटा गुफाहरू छन् । जिल्लाकै उच्च स्थानमा अवस्थित पात्ताल भुमेश्वर यहाँको महत्त्वपूर्ण तीर्थस्थल पनि हो । यहाँ रहेको तलाउको पानी एकचोटी शिरमा चढाए पवित्र भइने र मनोकाङ्क्षा पुरा हुने जनविश्वास रहिआएको छ । 

उत्तरपट्टि लहरै मिलेको अपि, नाम्पा हिमशृङखला आँखै अगाडिजस्तो देखिन्छ । लालीगुराँसको घना जङ्गल फागुन, चैतमा ढकमक्क फुलेर राताम्मे भएको दृश्य मनमोहक देखिन्छ । यहाँको प्राकृतिक फल ‘काफल’ वैशाख जेठतिर रुखमै टिपेर ताजै खान मिल्छ । महाशिवरात्रिमा यहाँ विशाल मेला लाग्ने गर्दछ । शान्त वातावरणमा कोइली, न्याउली, कुक्कुजस्ता चराहरूको आवाजले सहरको कोलाहलमा बस्नेहरूलाई एक छिन आनन्द दिन्छ । जो कोही पनि यहाँ आएर सुस्ताउन र रमाउन सक्छन् । विवाह तथा व्रतबन्ध गर्नेहरू सुदूरपश्चिमका विभिन्न ठाउँबाट मात्र होइन भारतको उत्तराखण्डबाट समेत यहाँ आइपुग्छन् ।

हामी गुफा भित्र पस्यौँ । गुफा सुरुवातबाटै ओरालो सोझियो । डुसेनको टोली डोरी बाँध्दै, जिपिएस पोइन्ट निर्धारण गर्दै अघि बढ्यो । हामी भिडियो र फोटो खिच्दै उनको पछि लाग्यौँ । गुफा भित्रका हरेक दृश्यहरूले हाम्रो ध्यान तान्दथे । कतै मूर्तिजस्ता, कतै चेप्टा, कतै लाम्चा चट्टानका आकृतिहरू हेरिरहुँजस्ता थिए । 

एक छिन सहज रुपमा अघि बढेका हामीहरू केही मिनेटमा अप्ठेरो बाटोको सामना गर्न पुग्यौ । ओरालो र चिप्लो चट्टानको काप्चाबाट एकोहोरो भएर अघि बढ्नुपर्ने थियो । गुफाको उचाइ धेरै थियो, तर चौडाइ थोरै । १५ मिनेटमा तेर्सो बाटो आइपुग्यो । यहाँबाट अघि बढ्दा केही खुला महसुस भयो । तर सोचेजस्तो सजिलो चाहिँ थिएन । वक्र रेखाजस्तो कतै साँघुरो र कतै उबडखाबड गुफा पछ्याउँदै हामी अघि बढ्यौँ । 

एक छिनमा खुला र चौडा भाग आयो । त्यहाँ ४०/५० जना मानिस जम्मा हुन मिल्ने क्षेत्र थियो । उचाइ घरको तिन तलाभन्दा बढी जस्तो लाग्थ्यो । त्यहाँबाट केही ओरालो झरेपछि मूल गुफाबाट अन्य दुइवटा गुफा दायाँ र बायाँ पनि देखिए । मूल गुफाबाट तल झर्दै अघि बढ्ने क्रममा गुफाको सतहमा अब थोरै पानी बग्न सुरु भएको थियो । फ्रान्सेली टोली हामी भन्दा निकै पछाडि थियो ।

अचम्मलाग्दो गुफा भित्र हामी अज्ञात स्थानतर्फ जाँदै थियो । उद्धारकर्मीहरू नभएको अवस्थामा हाम्रो यात्रा जोखिमपूर्ण पनि हुन सक्थ्यो ।  

गुफासँग सङ्घर्ष गर्दै हामी अघि बढिरह्यौँ । केही तल झरेपछि फेरि चौराहाजस्तो ठाउँ आयो । त्यहाँ पनि दुई साँघुरा गुफाहरू मूल गुफाबाट दायाँ र बायाँ छुट्टिएका थिए । यो ठाउँमा हामीले केही मिनेट विश्राम लियौँ । यहाँ निकै सुन्दर मूर्तिजस्ता आकृतिहरू थिए । गुफा यात्रामा रहेका केही जनाले भित्तामा आ–आफ्नो नाम कोरे । कसैले चित्र बनाउँदै रमाइलो गरे ।  

 अगाडिको भागमा पर पुग्दा अक्सिजनको अभाव महसुस हुन्छ । तर यहाँ हामीलाई अक्सिजन कम भएको कुनै आभास नै भएन । बरु कतै न कतैबाट हावा आइरहेजस्तो महसुस हुन्थ्यो । 

तेर्साे बाटो अघि बढ्दै जाँदा केही पर माटो र पातपतिङ्गरको थुप्रो देखियो । यस भन्दा अगाडि निकै साँघुरो भाग भएर पानी बगेको देखिन्थ्यो । हामीले सोच्यौँ, ‘अब यो भन्दा अघि बढ्न सकिन्न ।’  

एक छिन थकाइ मारेपछि हामी फिर्ता आउने निर्णयमा पुग्यौँ । गुफाभित्र कति तल झर्‍यौ भन्ने कुराको कुनै अनुमान थिएन । समय २ घण्टाभन्दा बढी बितेछ । 

अब माथि उक्लिने बेलाको सङ्घर्ष झन कठिन थियो । उसै त उकालो, झन त्यसैमा भोक लागिसकेको थियो । माथि उक्लिन थालेको एक घण्टापछि हामीले फ्रान्सेली टोली भेट्यौँ । उनीहरूसँग कुरा गर्दै भिडियो खिच्यौँ । डुसेनको टोली आफ्नो काममा लाग्यो, हामी उकालो चढ्दै अघि बढ्यौँ । गुफाको मुखमा पुग्दा दिउँसो एक बजेको थियो । एक्कासी उज्यालोमा पुग्दा आँखा त तिरिमिरी भयो ।

पहिलो दिन डुसेनको टोलीले एक सय ४० मिटर गहिराई र करिब साढे तीन सय मिटर लम्बाइसम्म नाप जोख गरेको बतायो । उनीहरू गुफाबाट पाँच घण्टापछि दुई बजेतिर बाहिर निस्किए । डुसेनले गुफाभित्र कुरा गर्दा ‘पात्ताल भुमेश्वर नेपालका अन्य गुफा भन्दा निकै अनौठो र आकर्षक’ रहेको प्रतिक्रिया दिए । पहिलो दिन गुफाबाट बाहिर निस्किएपछि डुसेनको टोलीले भोलीपल्ट थप अध्ययन गर्यो । साढे आठ सय मिटरसम्म प्रारम्भिक अध्ययन गरेर चैत १३ गते उनीहरू धनगढीतर्फ लागे । 

डुसेनको टोलीले अर्को हप्ता चैत २६ गते फेरि थप अध्ययन गर्न आउने खबर पठायो । पाँच जनाको टोली भनेकै समयमा आइपुग्यो । उनीहरुले गुफा अध्ययन गर्ने थप उपकरणहरू सहित पाँच घण्टा गुफाभित्र बिताएर फर्किए ।  

गुफाबारे अनुभव लेख्दैगर्दा डुसेनलाइ सम्पर्क गर्न सके केही थप नयाँ कुरा थाहा हुन सक्थ्यो । ती फ्रान्सेली गुफा अध्येता अहिले ७८ बर्ष पुगे होलान् । कम्प्युटरको पुरानो फाइलहरू खोतल्दै गर्दा डुसेनका अनुवादक अविरल लिम्बुको सम्पर्क भेटियो । लिम्बुसँग सम्पर्क पनि भयो । डुसेनलाइ इमेल पठाएर जानकारी माग्ने बताएका उनले त्यसपछि थप सूचना उपलब्ध गराउन सकेनन् । 

डुसेनले अध्ययन गरेपछि दुई बर्ष अघि बेलायतका गुफा विशेषज्ञ पिटर एलिसन र बङ्गलादेशका आरिफ गोइयाको टोली पात्ताल भुमेश्वर पुगेको थियो । उनीहरूले साढे एक किलोमिटर भित्र पसेको दाबी गरेका थिए । तर पात्ताल भुमेश्वर गुफाबारे यकिन जानकारी भने कतैबाट आएन । आशा गरौँ, भविष्यमा थप अध्ययनहरूबाट पात्ताल भुमेश्वर गुफाको रहस्य खुल्नेछ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button