बर्दिया थारु साहित्य राष्ट्रिय सम्मेलन सुरु

बर्दिया । बर्दियामा ९ औँ थारु साहित्य राष्ट्रिय सम्मेलन शुक्रबार देखि सुरु भएको छ । थारु लेखक संघ नेपाल तथा जंग्रार साहित्यिक बखेरीको संयुक्त आयोजनामा बर्दिया जिल्लाको राजापुर नगरपालिकामा गाउँमा सम्मेलन सुरु भएको हो ।

उक्त थारु साहित्यिक सम्मेलनमा थारु समुदाय तथा स्थानीय विकासमा रहेको बाधालाई फुकाउनका लागि विविध विषयमा छलफल हुने आयोजकले जनाएको छ । सम्मेलनमा प्यानल छलफलमा राजापुर नगरपालिकाको शिक्षा यात्रा, थारुले विकास र बाधा, बर्किमार (थारु महाभारत) का पात्रबारे बहस, संक्रमणकालीन न्याय र द्वन्द्वपीडितको सवाल, थारु लोक साहित्यको संरक्षणमा युनिक नेपालको भूमिका, थारु साहित्यको विषयमा छलफल हुने कार्यक्रम रहेको छ । छलफलमा विषय विशेषज्ञ शिक्षा विद् , विज्ञ, पूर्व मन्त्री, सांसद, नगरप्रमुख, पालिका अध्यक्ष, प्राध्यापक, थारु बुद्धिजीवी, थारु समुदायबाट विभिन्न विषयमा विद्यावारिधि गर्नु भएका व्यक्तित्वहरू, साहित्यकारहरूको सहभागिता रहेको छ ।

दुई दिन सम्म सञ्चालन हुने सम्मेलनले बर्दिया घोषणा पत्र जारी गर्दै सम्पन्न हुने आयोजक जंग्रार साहित्यिक बखेरीका अध्यक्ष सोम डेमनडौराले जानकारी गराउनुभएको छ ।
प्रतिक्रिया राख्नुहोस्