नेपाल, भारत, चाइना एक्सपो पोखरामा सुरु
पोखरा । पोखरामा आज नेपाल, भारत, चाइना एक्सपो २०२५ सुरु भएको छ ।
पोखरासहित नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पोखरामा उक्त कार्यक्रम सुरु भएको कार्यक्रम संयोजक सुनिल भट्टराईले बताउनुभयो ।

प्यासिफिक एसिया ट्राभल एसोसिएसन नेपाल च्याप्टर(पाटा)को आयोजनामा भएको उक्त कार्यक्रममा नेपालसहित भारत र चाइनाबाट क्रेता, बिक्रेता, सञ्चारकर्मी र विज्ञ वक्ता लगायत पर्यटनसँग सम्बद्ध सरोकारवालाहरू सहभागी रहेको संयोजक भट्टराईले जानकारी दिनुभयो ।
कार्यक्रममा करिब ५ सय जनाको सहभागिता भएको आयोजकको भनाइ छ । संयोजक भट्टराईका अनुसार मङ्गलवार र बुधबार बी टु बी कार्यक्रम हुने छ ।
विश्व पर्यटन इतिहासमै पहिलो पटक तीन वटा मुलुक समावेश भई आयोजना गरिने “नाईस” सम्भवतः पहिलो पर्यटन मेला भएको उहाँको दाबी छ ।
नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेशको उद्योग तथा पर्यटन मन्त्रालय, पोखरा महानगरपालिका, पोखरा पर्यटन परिषद्, अन्य प्रमुख पर्यटन सङ्घसंस्था र सरकारी एवं निजी क्षेत्रका विभिन्न साझेदार संस्थाहरूको सहकार्यमा कार्यक्रम भएको हो ।
प्रतिक्रिया राख्नुहोस्