तपाईँ सुन्दै हुनुहुन्छः

‘वनलाई कृषिसँग जोडेर बहुउपयोग गर्न सकिन्छ’

नवलपरासी पश्चिम् । लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री देवकरण कलवारले वन संरक्षण र व्यवस्थापनमा उपभोक्ताको भूमिका महत्वपूर्ण रहने बताउनुभएको छ । कृषि तथा किसानको समृद्धिको लागि वनसँग जोड्ने नीति आवश्यक रहेको उल्लेख गर्दै मन्त्री कलवारले किसानको उन्नतिका लागी वनको बहु प्रयोग गर्न सकिने उल्लेख गर्नुभयो ।

सयपत्री सामुदायिक वन उपभोक्ता समूहको सातौं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री कलवारले जलवायु परिवर्तन र वन सुरक्षाका विषयमा उपभोक्ताको सक्रिय सहभागिता अनिवार्य रहेको बताउनुभयो । मन्त्री कलवारले वन ऐन संशोधन गरी कर प्रणालीलाई एकद्वार बनाउने तथा ढलेका रुखहरूको व्यवस्थापन सहज बनाउने तयारी भइरहेको जानकारी दिनुभयो । उहाँले वनको उचित संरक्षण भएमा उपभोक्ताले निरन्तर लाभ उठाउन सक्ने धारणा व्यक्त गर्नुभयो ।

लुम्बिनी प्रदेशका कृषि, वन तथा वातावरण समितिका सभापति विश्वप्रेम पाठकले नेपालको संविधानको अनुसूची ९ अनुसार वन प्रदेश सरकारको एकल अधिकारमा पर्ने भए पनि त्यसको पूर्ण उपयोग हुन नसकेको उल्लेख गर्नुभयो। 

बर्दघाट सरावल सव डिभिजन वनका प्रमुख बलराम पोखरेलका अनुसार वन ऐन र नियमावली अनुसार ४ महिनासम्म वनमा प्रवेश नै गर्न नपाइने प्रावधानले व्यवस्थापनमा कठिनाइ भइरहेको बताउनुभयो। 

जिल्ला वन पैदावार तथा आपूर्ति समितिले तोकेको मूल्यभन्दा कममा काठ विक्री गर्न कठिन भएको पोखरेलले बताउनुभयो । 

सामुदायिक वन महासङ्घका केन्द्रीय सदस्य कमल परियारले वन संरक्षण, कटान र विक्री प्रक्रियामा वन ऐन तथा नियमावली अप्ठ्यारो बनेको बताउनुभयो । उहाँले सामुदायिक वन व्यवस्थापन पारदर्शी बनाउन नसके संरक्षण चुनौतीपूर्ण हुने चेतावनी दिनुभयो। 

प्रतिक्रिया राख्नुहोस्

Back to top button