तपाईँ सुन्दै हुनुहुन्छः

लेबनानमा शान्ति सेनामाथि आक्रमण, उपरथी ढकाल घाइते

काठमाडौँ ।  युनिफिल लेबनानमा शान्ति सेनामाथि आक्रमण भएको छ । लेबनानको राजधानी बेरुतमा शान्ति सेनाका डेपुटी फोर्स कमाण्डर नेपाली सेनाका उपरथी चोकबहादुर ढकाललगायत सुरक्षाकर्मी सवार सवारी साधनमा उत्तेजित भीडले आक्रमण गरेको हो । 

नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार घाइते हुनुभएका उपरथी ढकाललाई ‘यूएन लेभल–३’ अस्पतालमा पुर्‍याइएको थियो । अस्पतालले उहाँको स्वास्थ्य जोखिममुक्त रहेको जनाएको छ । उपरथी ढकाल कार्यकाल पूरा गरी स्वदेश फर्कने क्रममा हुनुहुन्थ्यो ।

घटनाका सम्बन्धमा युनिफिल मिसन मुख्यालयले प्रेस विज्ञप्ति जारी गर्दै दक्षिणी लेबनानमा सुरक्षा र स्थिरता स्थापना गर्न सेवा गरिरहेका शान्ति सैनिकमाथि भएको आक्रमणबाट स्तब्ध भएको जनाएको छ । शान्ति सैनिकमाथि भएको आक्रमणको निन्दा गर्दै संयुक्त राष्ट्र सङ्घले लेबनान सरकारलाई घटनाको तत्काल अनुसन्धान गरी आवश्यक कारबाहीको माग गरेको छ । 

लेबनानका प्रधानमन्त्री र लेवनिज आर्मड फोर्सले तत्काल अनुसन्धान गरी संलग्न व्यक्ति तथा समूहलाई कारबाहीको दायरामा ल्याउने बताएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button