सर्लाहीमा ६५ प्रतिशत किशोरीलाई एचपीभी खोप प्रदान
सर्लाही । सर्लाहीमा मानव पेपिलोमा भाइरस (एचपीभी) विरुद्धको खोप अभियान अन्तर्गत ५ दिनमा लक्ष्यको ६५ प्रतिशत किशोरीलाई खोप लगाइएको छ । स्वास्थ्य कार्यालय सर्लाहीका अनुसार माघ २३ गते देखि सञ्चालन भएको अभियानमा हालसम्म १८ हजार जना किशोरीले खोप प्राप्त गरेका छन् ।
स्वास्थ्यकर्मी, विद्यालय, अभिभावक र स्थानीय निकायको सहकार्यमा खोप अभियानलाई प्रभावकारी रूपमा सञ्चालन गरिएको स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत सुशील झाले जानकारी दिनुभयो । स्वास्थ्यकर्मीहरू विद्यालयमै गएर खोप लगाइरहेका छन् भने अभिभावकहरूलाई सचेतनामूलक कार्यक्रममार्फत जानकारी प्रदान गरिएको छ ।
सर्लाहीमा ५१ हजार ७ सय २४ जना किशोरीलाई क्यान्सर विरुद्धको खोप लगाइँदै छ । सर्लाहीको २० पालिकामा मध्ये पहिलो चरणमा १० पालिकामा क्यान्सर विरुद्धको खोप सुरु भएको हो । लालबन्दी, ईश्वरपुर, चन्द्रनगर, ब्रह्म्पुरी, पर्सा, हरिपुर्वा, मलंगवा, कौडेना, हरिपुर र कविलासी लगायतको पालिकामा एकै साथ क्यान्सर विरुद्धको एचपिभी खोप सुरु गरिएको स्वास्थ्य कार्यालय मलंगवाले जनाएको छ ।
स्वास्थ्य कार्यालयका प्रमुख नवल किशोर झाले फाल्गुन १ देखि ७ गते सम्म दोस्रो चरणको खोप बाँकी रहेको १० पालिकामा लगाइने बताउनुभयो । मानव पेपिलोमा भाइरस पाठेघरको मुखको क्यान्सरको प्रमुख कारणमध्ये एक भएकाले यसबाट जोगिन एचपीभी खोप प्रभावकारी उपाय मानिन्छ । विश्व स्वास्थ्य सङ्गठनले पनि किशोरीहरूलाई यो खोप लगाउन सिफारिस गरेको छ ।
प्रतिक्रिया राख्नुहोस्