कर्मचारी सङ्गठनले सुशासनको पैरवी गर्नुपर्छ : मन्त्री भण्डारी
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले कर्मचारीहरूले सुशासन कायम गर्नमा विशेष ध्यान दिनुपर्ने बताउनुभएको छ ।

नेपाल निजामती कर्मचारी सङ्गठन, उद्योग, वाणिज्य तथा आपूर्ति विभागीय समितिको १२औँ अधिवेशन उद्घाटन समारोहमा बोल्दै उहाँले कर्मचारी सङ्गठनले सुशासन, पारदर्शिता र जबाफदेहिताको पैरवी गर्नुपर्ने बताउनुभयो ।
कर्मचारीहरू आफ्नो जिम्मेवारीमा प्रतिबद्ध र वफादार भए मात्रै देशको अर्थतन्त्र सुधार हुने बताउँदै उहाँले अनलाइन प्रणालीबाट कार्य सम्पादन गर्नुपर्नेमा जोड दिनुभयो ।
सेवाग्राहीले लाइन बसेर सेवा लिने प्रवृत्ति हटाउनुपर्ने मन्त्री भण्डारीको भनाई छ । सरकारले तय गरेको पूर्ण अटोमेशन प्रणाली प्रयोगमा ल्याउन कर्मचारीहरूलाई उहाँले निर्देशन दिनुभयो ।
मन्त्री भण्डारीले कर्मचारीहरूको सङ्गठनलाई धुमिल स्थितिबाट उज्यालो अवस्थामा पुर्याउनका लागि सङ्गठनमा काम गर्न आग्रह गर्नुभयो । सङ्गठनको अवधारणा, औचित्य, मर्म र भावनालाई अब्बल राख्नुपर्नेमा उहाँको जोड रहेको छ ।
प्रतिक्रिया राख्नुहोस्