तपाईँ सुन्दै हुनुहुन्छः

भोजपुरमा दोस्रो चरणको एचपिभी खोप अभियान सुरु

भोजपुर । पहाडी जिल्ला भोजपुरमा पाठेघरको क्यान्सर विरुद्ध दिइने ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप अभियान अन्तर्गत दोस्रो चरणको खोप अभियान सुरु गरिएको छ । 

नौ वटा स्थानीय तह रहेको भोजपुरमा दोस्रो चरणको कार्यक्रम अन्तर्गत चार वटा गाउँपालिकामा खोप अभियान सुरु भएको हो । पहिलो चरणमा माघ २२ गतेदेखि २४ गतेसम्म भोजपुर नगरपालिका, टेम्केमैयुङ गाउँपालिका, रामप्रसाद राई गाउँपालिका, हतुवागढी गाउँपालिका र आमचोक गाउँपालिकामा खोप कार्यक्रम सञ्चालन भइसकेको छ । पहिलो चरणमा चार हजार छ सय ७६ जनालाई खोप लगाउने लक्ष थियो ।

दोस्रो चरणको खोप कार्यक्रम अन्तर्गत बाँकी रहेका षडानन्द नगरपालिका, साल्पासिलिछो गाउँपालिका, अरुण गाउँपालिका र पौवादुङमा गाउँपालिकामा आइतबारबाट सुरु भएको र ती पालिकामा तीन हजार सात सय ४३ जना किशोरीहरूलाई एचपिभी खोप लगाउने लक्ष्य राखिएको स्वास्थ्य कार्यालय भोजपुरका प्रमुख राजु श्रेष्ठले जानकारी दिनुभयो । दोस्रो चरण अन्तर्गत माघ २९ गतेसम्म खोप कार्यक्रम सञ्चालन हुने छ । 

कक्षा छ देखि १० सम्म अध्ययनरत तथा विद्यालय बाहिर रहेका १० देखि १४ वर्षसम्मका गरी भोजपुरमा आठ हजार चार सय १९ जना किशोरीलाई दुई चरणमा गरी भोजपुरमा एचपिभी खोप दिइने छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button