घर–घरमा धारा जोडिएपछि छिमेकीको पर्खाई
दोलखा । पिउने पानीको समस्या भोगिरहेका दोलखा कालिञ्चोक गाउँपालिका वडा नम्बर–४ हिलेपानीका स्थानीयको घर–घरमा अहिले धारा जोडिएको छ । पानीकै समस्याका कारण गाउँ छोडेका स्थानीय घर– घरमा धारा जोडिन थालेपछि आफ्नै थातथलो फर्कन लागेको वडा नम्बर–४ का वडा अध्यक्ष दिपक खुलालले बताउनुभयो ।
कालिञ्चोक गाउँपालिका वडा नम्बर–४ हिलेपानीमा एक सय २६ घरधुरी रहेको छ । त्यसमा करिब ७० घरधुरीका मानिस राजधानी काठमाडौँमा रहेको वडा अध्यक्ष खुलालले बताउनु भयो ।
घर छोडेका धेरै स्थानीय पानीको समस्याकै कारण हिँडेका हुन् वडा अध्यक्ष खुलालले भन्नु भयो, त्यसैले वडाको विशेष पहलमा अहिले प्रत्येकको घर–घरमा धारा जोडिएको छ । गाँउमा सडक पुगिसकेको छ, घर–घरमा धारा पनि जोडिसकियो वडा अध्यक्ष खुलालले भन्नुभयो–अब राजधानी पुगेका स्थानीय आफ्नै थातथलो फर्कने अपेक्षा गरेका छौ । स्थानीय दिपक घिमिरे, चित्रशङ्कर घिमिरे, ताराशङ्कर घिमिरे, ताराबहादुर कार्की लगायत आफ्नो थातथलो फर्किसकेको वडा अध्यक्ष खुलालको भनाई छ ।
स्थानीय ज्येष्ठ नागरिक गङ्गामाया भण्डारी पनि हिलेपानीका धेरै छिमेकी पानीको समस्याकै कारण घर छोडेर राजधानी हिँडेको बताउनुहुन्छ । केही समय अघिसम्म हिलेपानीका मानिसले पानी खान हिलेपानी स्कुल नजिकको ठूल्धारामात्र थियो गङ्गामायाले भन्नुभयो, पानी थाप्नेको भीड हुने भएकोले एक गाग्री पानीको लागि घण्टौँ पर्खनु पर्थ्यो ।
अर्को स्थानीय ज्येष्ठ नागरिक रत्नमाया खतिवडा हिलेपानीमा केही समय अघिसम्म एउटा मात्र धारा भएकोले पानी लिन एक÷दुई घण्टा टाढासम्म जानुपर्ने अवस्था रहेको बताउनु हुन्छ । अहिले वडाले घर–घरमा धारा जोडिदिएको छ, गाँउमा सडक पनि आएको छ रत्नमाया भन्नु हुन्छ, अब घर छोडेर नेपाल गएका छिमेकी फर्कने आशामा छौ ।
कालिञ्चोक गाउँपालिका वडा नम्बर–४ को पहलमा दुई वर्ष अघि हिलेपानी र माथिल्लो गुमुमा सुरु भएको मिरेक्पा संस्कृतग्राम खानेपानी आयोजनाले अहिलेसम्म एक सय १६ घरमा धारा बनाई सकेको र अब २४ वटा घरमा धारा बनाउन बाँकी रहेको वडा अध्यक्ष दिपक खुलालले बताउनुभयो ।
वडाको पहलमा कालिञ्चोक गाउँपालिकाले क्रमागत बजेट अन्तर्गत सुरु गरेको वडा नम्बर ३ र ४ लक्षित खानेपानी आयोजनाको लागि ११ किलोमिटर टाढा मिरेक्पाबाट पानी ल्याइएको वडा अध्यक्ष खुलालले बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्