तपाईँ सुन्दै हुनुहुन्छः

नेपालको लगातार चौथो हार

काठमाडौँ । राजधानीमा जारी महिला त्रिकोणात्मक टि–२० सिरिजमा नेपालले लगातार चौथो हार बेहोरेको छ ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा आज भएको  खेलमा नेपाल थाइल्याण्डसँग ५ रनले पराजित भएको हो । यस हारसँगै नेपाल उपाधि होडबाट बाहिरिएको छ ।  जितसँगै थाइल्याण्डको भने उपाधि जित्ने सम्भावना बलियो बनेको छ ।

थाइल्याण्डले दिएको एक सय सात रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर एक सय एक रन मात्र बनायो । नेपालका लागि रूविना क्षेत्रीले सर्वाधिक २६ रन जोडिन् । उनले ३० बलमा ३ चौका र १ छक्काको सहयोगमा ३६ रन बनाएकी हुन् । यसैगरी कविता जोशीले २४ रन बनाइन भने रोमा थापाले १९ जोडिन् ।

यता थाइल्याण्डका लागि थिपचा पुत्थावोंगले चार विकेट लिइन भने फतिन्ना मायाले दुई विकेट लिइन् । त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको थाइल्याण्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक  सय ६ रनको योगफल तयार गरेको थियो ।

थाइल्याण्डका लागि चानिदा सुत्थीरूआंगले सर्वाधिक २७ रन जोडिन् । उनले २८ बलमा १ चौका प्रहार गरिन् । त्यस्तै थिपाथ्चा पुथावोङले अविजित २५ तथा नानपत कोन्चारोन्काइले १९ रन बनाइन् । अफिसारा सुवान्चोनरथीले  १७ रन जोडिन् ।

नेपालका लागि मनिषा उपाध्यायले तीन विकेट लिइन् भने पूजा महतो र रचना चौधरीले समान एक एक विकेट लिए । नेपाल पहिलो र तेस्रो खेलमा नेदरल्याण्ड्ससँग र दोस्रो खेलमा थाइल्याण्डसँग पराजित भएको थियो । पहिलो र तेस्रो खेलमा नेदरल्याण्ड्सलाई हराएको थाइल्याण्डले दोस्रो खेलमा नेपाललाई पराजित गरेको थियो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button