तपाईँ सुन्दै हुनुहुन्छः

आहा ! रारा पोखरा गोल्ड कपको उद्घाटन खेलमा पुलिसको विजयी सुरुवात 

पोखरा । पोखरामा आज (मङ्गलवार) देखि सुरु भएको आहा ! रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा नेपाल पुलिस क्लबले विजयी सुरुवात गरेको छ । पोखराको सहारा क्लबको आयोजनामा पोखरा रंगशालाको फुटबल मैदानमा आज भएको उद्घाटन खेलमा पुलिसले आयोजक सहारा क्लबलाई १—० को गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा यात्रा बनाएको हो । 

पुलिसको जितमा खेलको ३६ औँ मिनेटमा उज्ज्वल राईले गोल गर्नु भयो । उहाँले प्रहार गरेको कर्नर बल सिधै गोलमा परिणत भएको थियो । दोस्रो बार च्याप्दै प्रहार भएको उक्त बल सहाराका गोलरक्षक सन्तोष महतले बचाउन सक्नुभएन । ३ विदेशी सहित सहारा एकेडेमीका खेलाडीहरू समेटेर मैदानमा उत्रिएको सहाराले पाएका केही अवसरलाई सदुपयोग गर्न नसक्दा पहिलो चरणबाटै बाहिरिनु पर्‍यो । खेलमा उज्ज्वल राई नै म्यान अफ दी म्याच घोषित हुनु भयो । 

भोलि (बुधबार) दोस्रो खेल सशस्त्र प्रहरी बलको एपिएफ क्लब र मच्छिन्द्र क्लब बिच खेल हुने प्रतियोगिताका संयोजक पूर्णबहादुर गुरुङले बताउनु भयो ।

२४ औँ संस्करणको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा ! रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिताको पोखराका मेयर धनराज आचार्यले उद्घाटन गर्नु भयो । कार्यक्रममा बोल्दै उहाँले पोखरासँग चाइना सहित १४ वटा विभिन्न देशका सहरहरूसँग भगिनी सम्बन्ध भएको उल्लेख गर्दै पोखराको विकासमा सहकार्य गर्न सकिने जनाउनु भयो । 

फागुन ३ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा ३ विदेशी सहित १२ टिमको सहभागिता रहेको क्लबका अध्यक्ष केशवराज बरालले बताउनु भयो । 

प्रतियोगितामा विजेतालाई १२ लाख र उपविजेतालाई ६ लाख पुरस्कार प्रदान गरिने भएको छ । ‘आत्मा साक्षी राखी मन, वचन र कर्मले सामाजिक सेवा गरौँ’ भन्ने उद्देश्यका साथ २०५५ सालमा स्थापित सहारा क्लब पोखराले फुटबल मार्फत सामाजिक कार्य गर्दै आएको महासचिव रामजी प्रसाद अधिकारीले बताउनु भयो । 

हिमश्री फुड्सका निर्देशक प्रकाश केसीले आहा रारा गोल्ड कपलाई सफल पार्न सबैले सहयोग गर्नुपर्ने बताउनु भयो ।  प्रतियोगिताको मुख्य प्रायोजक हिमश्री फुड्स प्रालिको उत्पादन रारा तयारी चाउचाउ रहेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button