तपाईँ सुन्दै हुनुहुन्छः

‘लामो समय काँग्रेस–एमालेबीच सत्ता गठबन्धन भए राजनीतिक स्थायित्व हुन्छ’

पोखरा । नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले लामो समयसम्म काँग्रेस–एमालेबीच सत्तागठबन्धन भएमा राजनीतिक स्थायित्व हुने बताउनुभएको छ ।

काँग्रेसका ७७ वटै जिल्लाका सभापति र प्रशिक्षण विभाग प्रमुखहरूको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले मुलुकको स्थायित्वका लागि प्रतिस्पर्धी पार्टीसँग मिल्नुपरेको दाबी गर्नुभयो ।

नेपालको संविधान विश्वकै उत्कृष्ट भएको दाबी गर्दै संविधानको प्रयोगमा आएका केही कठिनाइ सम्बोधन गर्न संविधानको संशोधन आवश्यक रहेको उहाँको भनाई थियो । त्यसका निम्ति एमालेसँग सहमति भइसकेको र अन्य दललाई पनि मिलाएर अघि बढ्नुपर्ने सभापति देउवाको भनाई थियो । प्रधानमन्त्री केपी शर्मा ओलीप्रति अविश्वास गर्नुपर्ने कारण नरहेको उहाँले जनाउनुभयो ।

सभापति देउवाले वर्तमान संविधानमा राखिएको संघीय लोकतान्त्रिक व्यवस्था उच्चतम व्यवस्था भएको प्रस्ट पार्दै समावेशी र समानुपातिक प्रणालीले सबै नागरिकका अधिकार समेटेको उल्लेख गर्नुभयो । 

प्रशिक्षण विभाग प्रमुख पूर्णबहादुर खड्काले काँग्रेसले नै सङ्घीयताको नीति ल्याएको दाबी गर्नुभयो । उहाँले सङ्घीयता अझै बलियो बनाएर लैजानुपर्नेमा समेत जोड दिनुभयो ।

नेपाली कांग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजना एवं नेपाली कांग्रेस गण्डकी प्रदेशको व्यवस्थापनमा भएको अभिमुखीकरणमा पार्टीको ७७ वटै जिल्लाका सभापति, जिल्लाका प्रशिक्षण शाखा प्रमुख तथा उपसभापति गरी करिब २ सय जनाले भाग लिएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button