तपाईँ सुन्दै हुनुहुन्छः

भोजपुरमा एचपिभी खोप अभियान सुरु: करिब साढे आठ हजारलाई खोप लगाउने लक्ष

भोजपुर । पूर्वी पहाडी जिल्ला भोजपुरमा आठ हजार चार सय १९ जना किशोरीहरूलाई खोप लगाउने लक्षका साथ मङ्गलवारबाट पाठेघरको क्यान्सर विरुद्ध दिइने ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप अभियान सुरु भएको छ । कक्षा छ देखि १० सम्म अध्ययनरत तथा विद्यालय बाहिर रहेका १० देखि १४ वर्षसम्मका किशोरीलाई एचपिभी खोप दिइने छ ।

जिल्लाका नौ वटा स्थानीय तह मध्ये पहिलो चरणमा माघ २२ देखि २४ गतेसम्म भोजपुर नगरपालिका सहित टेम्केमैयुङ गाउँपालिका, रामप्रसाद राई गाउँपालिका, हतुवागढी गाउँपालिका र आमचोक गाउँपालिकामा खोप कार्यक्रम सञ्चालन हुने छ भने माघ २७ गते देखि २९ गतेसम्म षडानन्द नगरपालिका, साल्पासिलिछो गाउँपालिका, अरुण गाउँपालिका र पौवादुङमा गाउँपालिकामा दोस्रो चरणको खोप कार्यक्रम सञ्चालन हुने स्वास्थ्य कार्यालय भोजपुरका प्रमुख राजु श्रेष्ठले जानकारी दिनुभयो । 

खोप अभियानका लागि जिल्लाका एक सय ३५ विद्यालय, नौ स्थानीय तहका ८१ वटै वडा, ८१ वटा स्वास्थ्य संस्था र नौ वटा समुदाय स्तरीय खोप केन्द्र गरी दुई सय २५ खोप केन्द्र निर्धारण गरिएको छ भने दुई सय २५ जना स्वास्थ्यकर्मी र चार सय ५० जना स्वयम सेवक परिचालन गरिएको छ । 

भोजपुर नगरपालिका भित्र भने ३९ वटा खोप केन्द्र मार्फत विद्यालयमा अध्ययनरत एक हजार एक सय २२ जना र विद्यालय बाहिरका एक सय ८८ जना किशोरीहरूलाई एचपिभी खोप लगाउने लक्ष राखिएको नगरपालिका स्वास्थ्य शाखाका स्टाफ नर्स ज्ञानु श्रेष्ठले जानकारी दिनुभयो । 

खोप कार्यक्रमको मङ्गलवार सदरमुकाममा रहेको बिद्योदय माध्यमिक विद्यालयमा जिल्ला समन्वय समितिका प्रमुख कमल थुलुङ राई, भोजपुर नगरपालिका उपप्रमुख निर्मला शेर्पा, प्रमुख जिल्ला अधिकारी नरबहादुर थापाले खोप कार्यमा संलग्न स्वास्थ्यकर्मीलाई किट प्रदान गरी शुभारम्भ गर्नु भएको थियो । सोक्रममा दोस्रो समस्याका रुपमा पाठेघरको क्यान्सर देखिएकाले यसको विरुद्ध दिइने सञ्चालन हुन लागेको खोप अभियान सफल बनाउन सबैको दायित्व हुने सहभागी वक्ताहरूले धारणा राख्नु भएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button