निरोगी नेपाल अभियान सफल बनाउन साझा प्रयास आवश्यक : प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बृहत् परिकल्पनाका साथ निरोगी नेपाल अभियान सञ्चालन गरिएकाले यस अभियानमा सबैको साझा प्रयास आवश्यक रहेको बताउनुभएको छ ।
विश्व क्यान्सर दिवसको सन्दर्भ पारेर स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज महाराजगन्जको शिवपुरी माध्यमिक विद्यालयमा आयोजना गरेको पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क एचपिभी खोप अभियान शुभारम्भ कार्यक्रममा प्रधानमन्त्री ओलीले मानव जातिको सुख र समृद्धि सरकारको लक्ष्य भएको बताउनुभयो । उहाँले नेपालीलाई रोग र अभावबाट मुक्त बनाउन सकभर कोही बिरामी नहोउन् र बिरामी भइहालेमा सहज र गुणस्तरीय रुपमा उपचारको प्रबन्ध होस् भनेर सरकारले आफ्ना तर्फबाट प्रयास गरिरहेको स्पष्ट गर्नुभयो ।
प्रधानमन्त्री ओलीले निरोगी नेपालको केन्द्र विन्दुमा मानव जाति रहेकाले स्वच्छ र सन्तुलित खाना खाएर स्वास्थ्य रहन सबैमा आग्रह गर्नुभयो । उहाँले उच्च मनोबल र साझा प्रयासबाट कोभिड–१९ को महामारीलाई पनि परास्त गरिएकाले पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क एचपिभी खोप लगाउने अधिकारबाट तोकिएका समूहका कोही पनि किशोरीहरू वञ्चित नुहुन् भन्ने कामना गर्नुभयो ।
आजदेखि आउँदो फागुन ६ गतेसम्म देशभरि एकै पटक यो अभियान सञ्चालन भएको छ । देशभर विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका छात्रा र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेरका करिब १७ लाख किशोरीलाई यो खोप दिन थालिएको छ ।
प्रतिक्रिया राख्नुहोस्