राष्ट्रिय एकतालाई प्रवद्र्धन गर्ने विषयवस्तुलाई पिएसबीले प्राथमिकता दिनुपर्छ : मन्त्री गुरुङ

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सार्वजनिक सेवा प्रसारण पिएसबीका समाचार र कार्यक्रमहरूले सामाजिक सद्भाव र सहअस्तित्वको भावना बढाएर मुलुकलाई एकताबद्ध बनाउन सक्नुपर्ने बताउनुभएको छ ।
नेपाल टेलिभिजनको ४० औँ स्थापना दिवसका अवसरमा आज सिंहदरबारमा आयोजित वार्षिकोत्सव समारोहमा सञ्चारमन्त्री गुरुङले नागरिकको सूचनाको हक सुनिश्चित गर्ने र राष्ट्रिय एकतालाई प्रवद्र्धन गर्ने विषयवस्तुलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो ।
नेपाल टेलिभिजन र रेडियो नेपाल सार्वजनिक सेवा प्रसारणमा रूपान्तरण भएपछि प्रसारण सामग्री र कार्यशैलीमा व्यापक परिमार्जन आवश्यक रहेको उल्लेख गर्नुहुँदै सञ्चारमन्त्री गुरुङले सार्वजनिक सेवा प्रसारणलाई जनता र राज्यको अधिकतम हितलाई केन्द्रमा राखेर अगाडि बढाइने बताउनुभयो ।
मन्त्री गुरुङले अन्तर्राष्ट्रिय अनुभव र स्थापित मान्यता अनुरुप सार्वजनिक सेवा प्रसारणलाई अगाडि बढाउन सरकार प्रतिबद्ध रहेको उल्लेख गर्नुहुँदै रेडियो नेपाल र नेपाल टेलिभिजनको प्रसारण पहुँच बढाउन र प्रसारण प्रविधिको सुधारका लागि समेत मन्त्रालय तयार रहेको बताउनुभयो ।
सञ्चारमन्त्री गुरुङले सार्वजनिक सेवा प्रसारणको विश्वव्यापी पहुँच बढाउन अन्तर्राष्ट्रिय स्तरका प्रसारण संस्था र साझेदार निकायहरूसँग सहकार्य र समन्वय बढाउन र विश्व बजारमा प्रतिस्पर्धी प्रसारण सामग्री उत्पादन गर्न सक्नेगरी जनशक्ति विकासमा जोड दिनुपर्ने समेत उल्लेख गर्नुभयो ।
वार्षिकोत्सव समारोहमा राष्ट्रिय योजना आयोगका सदस्य डा प्रकाशकुमार श्रेष्ठले नेपाल टेलिभिजनको स्थापना नै विकासका लागि सञ्चार भन्ने नाराका साथ भएको स्मरण गर्नुहुँदै परिवर्तित परिवेशमा पिएसबीले प्रसारणको माध्यमबाट देशको आर्थिक विकास र समृद्धिमा योगदान पुर्याउन सक्नुपर्ने बताउनुभयो ।
यस्तै कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले सूचना प्रविधिका क्षेत्रमा आएका नयाँ प्रविधिहरूको प्रयोगमा जोड दिई प्रसारण सामग्री र कार्यशैलीमा समयानुकूल परिमार्जन गर्दै जानुपर्ने बताउनुभयो ।
सार्वजनिक सेवा प्रसारणका कार्यकारी अध्यक्ष डा महेन्द्र विष्टले सार्वजनिक सेवा प्रसारण व्यापार वा नाफा केन्द्रित नभई राष्ट्रिय आवश्यकता र जनताको चाहानालाई केन्द्रमा राखेर अगाडि बढ्ने बताउनुभयो ।
पिएसबीका प्रमुख प्रशासकीय अधिकृत विष्णुराम न्यौपानेले नागरिक प्रतिको जिम्मेवारी पुरा गर्न सार्वजनिक सेवा प्रसारणलाई डिजिटल युग सुहाउँदो प्रविधि सहित आधिकारिक र जिम्मेवार प्रसारणका रुपमा स्थापित गर्दै लगिने बताउनुभयो ।
नेपाल टेलिभिजनले वार्षिक उत्सव समारोहमा २० वर्ष भन्दा लामो समय र ३० वर्ष भन्दा लामो समय सेवा गर्ने कर्मचारीहरूलाई दीर्घ सेवा पदकबाट सम्मान गर्नुका साथै विभिन्न विधामा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीहरूलाई पुरस्कृत समेत गरेको थियो ।
प्रतिक्रिया राख्नुहोस्