तपाईँ सुन्दै हुनुहुन्छः

हुलाक सेवा लोकतान्त्रिक र आधुनिक बनाउन लागेको छु :  मन्त्री गुरुङ

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले हुलाक सेवालाई लोकतान्त्रिक र आधुनिक बनाउन मन्त्रालय सक्रिय रहेको बताउनुभयो । 

पञ्चायत काल देखिको नीति टेकेर सञ्चालन हुँदै आएको हुलाकको नीति परिवर्तन गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले यो वर्ष भित्र पुराना सबै नीति र ऐन संशोधन गरेर समयानुकूल बनाउने कार्यमा आफु गम्भीरताका साथ लागेको सुनाउनुभयो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज हुलाक विभागले आयोजना गरेको ‘एक स्थानीय तह एक हुलाक’ कार्यालय स्थापना घोषणा कार्यक्रमको उद्घाटन गर्दै उहाँले मुलुक रूपान्तरण सँगै नीति र विधि फेरिन नसक्दा विकास ओझेलमा परेको धारणा राख्नुभयो । उहाँले नेपालमा विभिन्न समयमा भएका शान्तिपूर्ण क्रान्तिले राजनीतिक विकास भएको बताउँदै संरचनागत क्रान्तिमा सुधार ल्याउन तिर हाल सम्म कसैको ध्यान नगएको गुनासो गर्नुभयो । उहाँका अनुसार हुलाक सेवा निकै पुरानो र महत्त्वपूर्ण सेवा भएको र यसलाई आधुनिकीकरण गर्न प्रविधि मैत्री बनाउन जरुरी रहेको सुनाउनुभयो । “अब हुलाकको नीति परिवर्तन हुन्छ,” मन्त्री गुरुङले भन्नुभयो,“साथै हुलाकलाई प्रविधि मैत्री बनाउने विषयमा हाम्रो मन्त्रालय सधैँ संवेदनशील छ ।” 

कार्यक्रममा मन्त्री गुरुङले हुलाक सेवा विभागलाई निर्देशन दिँदै डिल्लीबजारस्थित गोश्वारा हुलाक कार्यालयबाट सुधारको कार्य थालनी गर्नु पर्ने बताउनुभयो । त्यस्तै, कार्यक्रममा स्थानीय तहका सबै हुलाक कार्यालयका कर्मचारी सहभागी थिए । यी सबैमाझ मन्त्री गुरुङले हुलाक जनसेवा मुखी बनाउन आग्रह समेत गर्नुभयो । “हुलाक सेवाको प्रभावकारिता सुरुवात केन्द्रबाट गोश्वारा हुलाक कार्यालयबाट सुरु गर्नुहोस्, अरू स्थानीय तहका हुलाक कर्मचारीले आ–आफ्नो क्षेत्रमा सेवा प्रभावित बनाउनुहोस्”, मन्त्री गुरुङले भन्नुभयो,“मन्त्रालयबाट नेतृत्व लिएर तपाईँहरूको काममा साथ दिन हरदम तयार छु ।”

कार्यक्रममा मन्त्री गुरुङ, निमित्त सचिव(सहसचिव) गजेन्द्रकुमार ठाकुरका अनुसार हुलाक सेवाले सीमित श्रोत र साधन प्रयोग गरेर अधिकतम उद्देश्य पुरा गर्न गर्दै आएको बताउनुभयो । साथै मन्त्री गुरुङको स्प्रीड अनुकूल  हुलाक सेवालाई आधुनिकीकरण गर्न मन्त्रालयमा गृहकार्य भइरहेको बताउनुभयो । 

हुलाक विभागका महानिर्देशक मनमाया भट्टराई पङ्गेनीले गोश्वारा हुलाक कार्यालयको अवस्था सुनाउँदै स्थानीय तहका हुलाक कार्यालयको सुधारका चुनौती र कार्य योजना मन्त्री समक्ष जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button