तपाईँ सुन्दै हुनुहुन्छः

झोलुङ्गे पुलले घटायाे पैदल यात्रीको दूरी (भिडियोसहित)  

गुल्मी । गुल्मी जिल्लाको विभिन्न ठाउँमा बनेका झोलुङ्गे पुलले गर्दा पैदल यात्रुहरूको दुरी घटाएको छ । सामान्यतया नदी पार गर्न पुल निर्माण गरिन्छ । तर, गुल्मीमा भने यात्रा छोट्याउनका लागि झोलुङ्गे पुल निर्माण गर्ने गरिएको छ । 

मालिका गाउँपालिका–५ को छापहिले लाकुरी र वडा नम्बर–२ चुत्राबोट जोड्ने झोलुङ्गे पुल

पछिल्लो समय जिल्लाका चार स्थानमा निर्माण भएका झोलुङ्गे पुलले गाउँको पैदल यात्राको दूरीलाई अझ सहज बनाएको छ । केही दिनअघि मात्रै निर्माण सम्पन्न भएको मालिका गाउँपालिका–५ को छापहिले लाँकुरीलाई वडा नम्बर–२ चुत्राबोट जोड्ने गरी जिल्लामै सबैभन्दा लामो झोलुङ्गे पुल निर्माण भएको छ । पुल निर्माण भएसँगै वारिपारि गर्ने २ घण्टाको दूरी केही मिनेट भरमै पुग्न सकिन्छ । पुलको लम्बाइ ३७५ मिटर रहेको छ । सो पुल २ करोड ३ लाख चालीस हजार लागतमा निर्माण भएको हो । 

त्यस्तै जिल्लाको धुर्कोट गाउँपालिकामा रहेको पर्यटकीय स्थल विचित्र गुफा पुग्ने स्थानमा धुर्कोट वडा नम्बर–५ र इस्मा गाउँपालिका वडा नम्बर–६ जोड्ने गरि झोलुङ्गे पुल निर्माण भएको छ । खोलामाथि निर्माण भएपनि यो पुलले पनि पैदल यात्रीको आऊ–जाऊ गर्ने गरी दूरी कम गरेको छ । नेपाल सरकार शहरी विकास मन्त्रालयको १ करोड ८९ लाखको लागतमा निर्माण भएको हो । तीन सय ७० मिटर लम्बाइ रहेको उक्त पुल लामो र अग्लो स्थानमा अवस्थित छ । झोलुङ्गे पुलले विचित्र गुफा पुग्ने पर्यटकको सङ्ख्या बढाउने स्थानीय रक्षा पन्थले बताउनुभयो । 

 धुर्कोट वडा नम्बर–५ र इस्मा गाउँपालिका वडा नम्बर–६ जोड्ने झोलुङ्गे पुल

त्यसैगरी जिल्ला सदरमुकाम तम्घासको रेसुङ्गा नगरपालिका वडा नम्बर–२ उदिनढुंगा र वडा नम्बर–७ लसुने डाँडा जोड्ने नमून झोलुङ्गे पुल निर्माण भएको छ । दुईवटा वडाका स्थानीयलाई वारिपारि आउजाउ गर्न पैदल यात्रा गर्दा घुमाउरो बाटो हिँड्नु पर्ने बाध्यता थियो । तर पहिले २० मिनेटभन्दा बढी समय लाग्ने बाटो अहिले २ मिनेटमै पुग्न पाउँदा स्थानीयहरू खुशी भएका छन् । मालिका गाउँपालिकाको वडा नम्बर ५ छापहिले र वडा नम्बर २ दर्लिङ जोड्ने गरि निस्ती खोला माथी जिल्लाकै सबैभन्दा लामो झोलुङ्गे पुल निर्माण भएको छ । पुल निर्माण भएसँगै तीन घण्टाको दुरी आधा घण्टामा छोटिएको स्थानीय देवकला विक बताउनुहुन्छ । 

तम्घासको रेसुङ्गा नगरपालिका वडा नम्बर–२ उदिनढुंगा र वडा नम्बर–७ लसुने डाँडा जोडने नमूना झोलुङ्गे पुल

तम्घास बजारको उदिनढुंगाबाट साखिने डाँडा पुग्ने तीन सय ५७ मिटर लामो पुल नेपाल सरकार शहरी विकास मन्त्रालय सस्पेन्सन ब्रिज डिभिजन मार्फत १ करोड ८४ लाखको लागतमा पुल निर्माण भएको हो । त्यस्तै रेसुङ्गा नगरपालिका वडा नम्बर–७ र वडा नम्बर–९ जोड्न पनि  नमूना झोलुङ्गे पुल निर्माण भएको छ । वडा नम्बर–७ भुजलखर्क र वडा नम्बर–९ विद्युत् कार्यालय नजिकैका स्थानीयलाई वारिपारि गर्दा ३० मिनेटभन्दा बढी पैदल यात्रा गर्नुपर्ने बाध्यता रहेकोमा अहिले केही मिनेटमै बाटो छोटिएको छ । कुल ५० लाख ६६ हजार ७७ रुपैयाँको लागतमा उक्त पुल निर्माण भएको हो ।

झोलुङ्गे पुल निर्माणका लागि गुल्मी क्षेत्र नम्बर २ का सङ्घीय सांसद गोकर्ण बिष्टको विशेष पहलमा नेपाल सरकार शहरी विकास मन्त्रालयमार्फत निर्माण भएको हो । 

भिडियोसहित

प्रतिक्रिया राख्नुहोस्

Back to top button