गोरखामा ‘लिगलिग पालुङटार महोत्सव २०८१’ हुने
गोरखा । गोरखाको पालुङटारमा ‘लिगलिग पालुङटार महोत्सव २०८१’ हुने भएको छ । लिगलिग पालुङटार उद्योग वाणिज्य सङ्घको मुख्य आयोजना, उद्योग वाणिज्य महासङ्घ, गण्डकी प्रदेश, पोखरा र गोरखा उद्योग वाणिज्य संघ, गोरखाको सहआयोजनामा यही माघ २४ गते देखि फागुन ४ गते सम्म महोत्सव गर्न लागिएको बुधबार पत्रकार सम्मेलन गरेर जानकारी गराइएको छ ।

‘ऐतिहासिक लिगलिग पालुङटारको पहिचान–कृषि, पर्यटन, उद्योग तथा व्यापार प्रवद्र्धन मुल अभियान’ मुल नाराका साथ आयोजना गरिएका महोत्सव पालुङटार नगरपालिका–५ को माझटार खेलमैदानमा सञ्चालन हुनेछ ।
‘नेपालकै उद्गम थलो लिगलिगकोटको विकास, पालुङटार र आसपासका स्थानीय तहहरुको कृषि, हस्तकला र व्यापार प्रवद्र्धन गर्ने महोत्सवको मुख्य उद्देश्य हो,’ लिगलिग पालुङटार उद्योग वाणिज्य संघका अध्यक्ष मानबहादुर आलेले भन्नुभयो,‘यो महोत्सवले गोरखाको एक व्यापारिक क्षेत्र पालुङटारको आर्थिक गतिविधिलाई पनि चलायमान बनाउँछ भन्ने हाम्रो अपेक्षा छ ।’
पालुङटार नगरलाई नेपाल भित्र र बाहिर पर्यटकीय, धार्मिक रुपमा चिनाउने, स्थानीय कला र संस्कृतिको संरक्षण र प्रबद्र्धन, कृषि र हस्तकलाका सामानहरूको प्रदर्शनी र बिक्री तथा सीप र कलाको प्रवद्र्धन÷प्रोत्साहन गर्ने, औद्योगिक सम्भावनाको पहिचान र पूर्वाधारको विकास, स्थानीय उत्पादनलाई प्रश्रय दिने, सूचना, सञ्चार एवं औद्योगिक क्षेत्रमा विकसित नयाँ प्रविधिको प्रदर्शनी गर्ने लगायतका उद्देश्य राखेर महोत्सव आयोजना गरिएको बताइएको छ ।
पालुङटार नगरपालिका मुख्य प्रायोजक र नगरपालिकाका सबै वडाहरू सह प्रायोजक रहेको महोत्सवमा १२० वटा स्टलहरू निर्माण गरिनेछ । जसमध्ये २० वटा स्थलहरू कृषि र हस्तकलाका सामाग्रीहरूको प्रदर्शनीका लागि छुट्टाइएको छ । ‘पालुङटार नगरपालिका, सिरानचोक गाउँपालिका, अजिरकोट गाउँपालिका, दूध पोखरी गाउँपालिका तथा भानु नगरपालिकाका लगायत मर्स्याङ्दी कोरिडोरमा रहेका पालिकाहरूको कृषि र हस्तकला उत्पादनहरू प्रदर्शनीमा ल्याउने तयारी गरेका छौँ,’ ,‘उत्कृष्ट छनोट भइआएका हस्तकलाका सामानहरूलाई हामीले पुरस्कृत समेत गरिनेछ ।’ प्रदर्शनीमा डोको, नाम्लो, नाङ्लो, भकारी, मान्द्रो लगायत स्थानीय स्तरमा उत्पादित विभिन्न हस्तकलाका सामाग्रीहरू प्रदर्शनी तथा बिक्रीको लागि राखिने आयोजकले बताएको छ । मर्स्याङ्दी कोरिडोर अन्तर्गतका विभिन्न पालिकामा उत्पादित कृषि तथा फलफूलको पनि प्रदर्शनी तथा बिक्री गरिने अध्यक्ष आलेले जानकारी दिनुभयो ।
महोत्सवमा २५ लाख दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ । महोत्सव सम्पन्न गर्नका लागि २५ लाख नै खर्च हुने र अनुमानित १ करोडको कारोबार हुने अपेक्षा आयोजकको रहेको छ ।
महोत्सवमा खुल्ला नृत्य प्रतियोगिता, रत्यौली गीत प्रतियोगिता, गृहिणी नृत्य प्रतियोगिता र विभिन्न सांस्कृतिक झाँकीहरू पनि प्रस्तुत गर्ने भएको छ । साथै हरेक दिन स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुती रहने आयोजकले जनाएको छ । महोत्सव अवलोकन गर्न सर्वसाधारणका लागि रु १००, विद्यार्थीका लागि रु ५० टिकटदर कायम गरिएको छ । विभिन्न साङ्गीतिक समूह तथा ब्याण्डहरुको प्रस्तुती रहँदा त्यसलाई बढाएर २५० रुपैयाँ सम्म पुर्याउने योजना रहेको उहाँले बताउनुभयो ।
महोत्सव सम्पन्न गर्नका लागि आलेको अध्यक्षतामा मुल आयोजक समिति, विभिन्न व्यक्तिहरूको नेतृत्वमा २५ वटा उपसमिति रहेको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
प्रतिक्रिया राख्नुहोस्