सुस्ताइरहेको सुस्ता, भूमिसँग जोडिए पनि अँध्यारोमै छ पुस्ता
नवलपरासी, पश्चिम । आधारभूत आवश्यकताका लागि पनि पछाडि परेको सुस्ता अहिले बत्तीमुनिको अँध्यारो जस्तै बनेको छ। आफ्नै भूमीसँग जोडिन नसकेका सुस्ता पारीका नागरिकहरु झोलुङ्गे पुल निर्माण पछि मात्रै आफ्नै भूमीसँग सहज रुपमा जोडिन सके। राष्ट्रिय विद्युत प्रसारण लाइन सुस्तामा सोही पुल मार्फत पुगेपनि, यसले सुस्ताको जीवनलाई उज्यालो बनाउन सकेको छैन। सुस्ताका नागरिकका लागि अन्धकार अझै कायमै छ।
सुस्तापारीका ३५० घरधुरीका झण्डै १८० जनासँग नागरिकता छैन। बसोबासका आधारमा बसाइ प्रमाणित गरिएको भए पनि नागरिकता र लाजपुर्जा नभएकाले विद्युत प्राधिकरणले मिटर जडान गर्न नमिल्ने भन्दै समस्या उत्पन्न भएको हो। यस समस्याको समाधानका लागि सरोकारवाला निकायमा ध्यानाकर्षण गराईएको छ तर हालसम्म कुनै सुनुवाई भएको छैन। अहिले सुस्तामा विद्युत प्रसारण काटिएको छ। नागरिकता र पुर्जा नभएका नागरिकलाई पनि वैकल्पिक उपायमार्फत विद्युत जोडिदिन आग्रह गरिएको छ, सुस्ता बचाउ अभियानका प्रवक्ता रविन्द्र जसयवालले बताउनु भयो।
सुस्तामा पुगेको राष्ट्रिय प्रसारण लाइनको उद्घाटन गत असोज १० गते राष्ट्रपति रामचन्द्र पौडेलले गर्नु भएको थियो। उद्घाटन कार्यक्रममा तत्कालीन कार्यवाहक प्रधानमन्त्री उपप्रधानमन्त्री प्रकाशमान सिंह, ऊर्जा तथा जलस्रोत मन्त्री दीपक खड्का, सांसद विनोद चौधरी र विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायतका प्रमुख व्यक्तिहरू उपस्थित थिहुनुहुन्थ्यो। उद्घाटन समारोहमा एक वर्षका लागि निशुल्क विद्युत उपलब्ध गराउने घोषणा गरिएको थियो।
तर, समय बित्दै जाँदा यो आश्वासन पूरा हुन सकेको छैन। एक वर्षका लागि निशुल्क विद्युत उपलब्ध गराउने भनिए पनि, बिधुत जडानका लागि कानूनी जटिलताले मिटर जडान रोकिएको छ। सुस्ता गाउँपालिकाका अध्यक्ष टेकनारायण उपाध्यायले एक महिना नहुदै विद्युत लाइन काटिएको बताउनु भएको छ। ‘निशुल्क भनियो र जनताले राजस्व नतिरेपछि लाइन काटियो, उहाँहरूको बोलिलाई जनताले विश्वास गरेनन्। अब माथिबाटै यसको पहल गरेर सुस्ताले विद्युत प्राप्त गर्नै पर्छ,’ उपाध्यायले भन्नुभयो।
सुस्ता, तीनतर्फबाट नारायणी नदी र एकतर्फबाट भारतीय भूमिले घेरेको क्षेत्र हो। यसअघि सोलारमार्फत विद्युत आपूर्ति भइरहेको थियो, तर सोलारले केवल बत्तीको लागि मात्र उपयोगिता पुर्याउने भएकाले, उद्योग र अन्य उपकरणहरूको संचालन गर्न सम्भव थिएन। त्यसपछि सरकारले नारायणी नदीमा बनेको झोलुङ्गे पुलमार्फत विद्युत विस्तार गर्न सुरु गर्यो।
सुस्ता अहिले उज्यालोको आशमा छ, अझै पनि त्यहाँका नागरिकको अन्धकारपूर्ण जीवनको समस्या समाधान हुन सकेको छैन।
प्रतिक्रिया राख्नुहोस्