आवश्यकता अनुसार अध्यादेश जारी गरिएको हो : गृहमन्त्री
विराटनगर । गृहमन्त्री रमेश लेखकले देशका आवश्यकता अनुसार सरकारले केही अध्यादेश जारी गरेको बताउनुभएको छ ।
विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले मुलुकको आर्थिक विकास, सेवा प्रवाह, सुशासन, तथा वैदेशिक लगानी बढाउने विषयमा सरकारले आवश्यकता अनुसार केही अध्यादेश ल्याएको प्रष्ट पार्नुभयो । सरकार सञ्चालन प्रभावकारी बनाउन केही अध्यादेश जारी गरेको बताउँदै उहाँले अब चाँडै बस्ने हिउँदे अधिवेशनमा सबै विधेयक पास हुने बताउनुभयो ।
एक प्रश्नमा उहाँले कुन कुन विषयमा संविधान संशोधन गर्ने भन्ने विषयमा आवश्यक छलफल प्रारम्भ भइसकेको र केही दिनमा संशोधन प्रक्रियाले गति लिने बताउनुभयो । मन्त्री लेखकले सबै दलको सहमति छलफल र सुझाव अनुसार सबैको अपनत्व हुने गरी संविधान संशोधन हुने प्रष्ट पार्नुभयो ।
मन्त्री लेखकले शान्ति सुरक्षाको विषयमा सरकार गम्भीर रहेको बताउनुभयो । कोशी प्रदेशका पूर्व मुख्यमन्त्री उद्धव थापामाथि भएको आक्रमण निन्दनीय घटना भएकाले सो घटनमा संलग्नमाथि छानविन हुने र दोषीलाई कारबाही हुने बताउनुभयो ।
प्रेस स्वतन्त्रता तथा व्यावसायिक पत्रकारिताप्रति सरकार प्रतिबद्ध रहेको बताउँदै मन्त्री लेखकले पत्रकारहरूलाई समाचार लेखेको आधारमा धम्काउने, तर्साउने लगायतका गतिविधि सरकारलाई मान्य नहुने उहाँले बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्