काँग्रेस-एमाले गठबन्धन अहिलेको आवश्यकता : सचिव अर्याल
सिन्धुपाल्चोक । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सचिव पद्मा अर्यालले दुई ठुला दलबिच सहकार्य अहिलेको आवश्यकता रहेकाले गरिएको बताउनुभएको छ ।
मेलम्ची नगर कमिटीको दोस्रो अधिवेशनमा शुक्रबार सम्बोधन गर्दै पूर्वमन्त्री समेत रहनुभएका अर्यालले अहिले सरकारमा सहकार्य रहे पनि चुनावमा मुख्य प्रतिस्पर्धा भने एमाले र काँग्रेसबिच हुने बताउनुभयो ।
छोटो समयमा सरकार परिवर्तन हुने गर्दा जनतामा चरम निराशा भएकाले जनतामा विश्वास दिलाउने र स्थिर सरकार निर्माण र राजनीतिक स्थायित्वको लागी नयाँ समीकरण बनेको स्पष्ट पार्नुभयो । एमाले सरकारमा हुँदा गरेका राम्रो कामको प्रचार गर्न उहाँले कार्यकर्ताहरूलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा स्थायी कमिटी सदस्य शेरबहादुर तामाङले तल्लो तहदेखि नै सङ्गठन बलियो बनाउन कार्यकर्ता जागरूक हुनुपर्ने बताउनुभयो । तामाङले इमान्दार कार्यकर्ता भएमा मात्र पार्टी मजबुत हुने बताउनुभयो ।
कार्यक्रममा केन्द्रिय सदस्यहरु सरेस नेपाल, सुवास कर्माचार्य, केन्द्रिय अनुशासन आयोग सचिवालय सदस्य डम्बर अर्याल, बागमती प्रदेश सदस्यहरु लगायतले शुभकामना व्यक्त गर्नुभयो ।
प्रतिक्रिया राख्नुहोस्