तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा प्रदेश स्तरीय अन्तरक्रियाकाे आयोजना

विराटनगर । २७ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा आन्तरिक मामिलातथा कानुन मन्त्रालय कोशी प्रदेशले विराटनगरमा आज प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ ।

अन्तरक्रिया कार्यक्रममा भूकम्प जोखिम न्युनिकरणका लागि आवश्यक पूर्व तयारी तथा भूकम्प आउँदा अपनाउनुपर्ने सावधानीका विषयमा छलफल भएको थियो ।

भूकम्प जुनसुकै वेला आउन सक्ने भएकाले त्यसबाट बच्न मापदण्ड अनुसारका सुरक्षित घर तथा भवन निर्माणमा जोड, संभावित विपद्को पूर्व तयारी, नयाँ तथा पुराना संरचनाका भूकम्प प्रतिरोधात्मक घर निर्माण तथा विकास निर्माण प्रक्रियामा विपद् जोखिम न्युनिकरणका विषयलाई जोडेर लैजानुपर्ने विषयमा कार्यक्रमका सहभागीहरूले जोड दिनुभएको थियो ।

सो अवसरमा आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले सरकार तोकेको मापदण्ड अनुसार घर तथा भवन निर्माण अनिवार्य गराउन प्रदेश सरकारले प्रदेश भवन ऐन–२०७६ संशोधन गर्न लागेको बताउनुभयो ।

२०७६ सालमा ऐन जारी भए पनि प्रभावकारी रुपमा त्यसको कार्यान्वयन हुन नसकेको बताउँदै उहाँले ऐन संशोधन भएपछि प्रदेशमा निर्माण हुने ठुलाठुला घर, अस्पताल तथा विद्यालय निर्माणमा प्रदेश सरकारका इन्जिनियरले त्यसको नक्सा बनाउने र अनुगमन गर्ने बताउनुभयो ।

मन्त्रालयका निमित्त सचिव कमलबहादुर थापाले भूकम्प जोखिम न्यूनीकरणको उत्तम उपाय भूकम्प प्रतिरोधात्मक घर निर्माण भएकाले यस बारेमा स्थानीय स्तरमा जनचेतना आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा भौतिक पूर्वाधार विकास मन्त्रालय कोशी प्रदेशका सचिव अशोककुमार साहले राष्ट्रिय भवन संहिता कार्यान्वयन गराउन मन्त्रालयले पालिका स्तरमा विभिन्न प्रकारको तालिम प्रदान गरिरहेको बताउनुभयो ।

कार्यक्रममा विपद् कार्यकारी समितिका विज्ञ रामकुमार दाहाल तथा मन्त्रालयका इन्जिनियर अरविन्द बस्नेतले, कोशी प्रदेश भूकम्पको केन्द्र विन्दुको लागि सबैभन्दा बढी जोखिम क्षेत्र भएकाले यस विषयमा समयमै सावधानी अपनाउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा कोशी प्रदेशका सुरक्षा निकायका प्रमुख, मन्त्रालयका कर्मचारी तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button