तपाईँ सुन्दै हुनुहुन्छः

दशैं राष्ट्रिय योग दिवस नेपालगञ्जमा भव्य रुपमा मनाइयो ( फोटो फिचर)

बाँके। ‘स्वस्थ समाज समृद्ध नेपाल र विश्व शान्तिका लागि योग’ भन्ने मूल नाराका साथ दशैं राष्ट्रिय योग दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ।

मङ्गलवार नेपालगन्जमा योग समिति नेपालले आयोजना गरेको कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि नरैनापुर गाउँपालिकाका अध्यक्ष शैयद इस्तियाक अहमद शाहले सबै प्रकारको रोगबाट मुक्ति मिल्ने योगाभ्यास गाउँगाउँमा गर्न जरुरी रहेको बताउनु भयो ।

उहाँले योगले शारीरिक तथा मानसिक रूपमा पनि नागरिकलाई स्वस्थ बनाउने भएकाले सरकारले यसलाई जोड दिएर राष्ट्रिय दिवसको रूपमा मनाउने गरेको पनि स्पष्ट पार्नु भयो ।

योग समिति नेपालका अध्यक्ष योग गुरु गिरिराज भट्टराईले शारीरिक तन्दुरुस्तीका लागि पनि विश्वभर योगको आकर्षण बढ्दै गएको बताउनु भयो । यसैकारण संयुक्त राष्ट्र सङ्घको आह्वानमा विश्वमा अन्तर्राष्ट्रिय योग दिवसनै मनाउन सुरु गरिएको जानकारी दिनु भएको थियो ।

योग व्यक्तिको शारीरिक, मानसिक र आध्यात्मिक स्वास्थ्यलाई सुदृढ गर्ने अभ्यास हो। आधुनिक चिकित्सा पद्धतिले रोग लागिसकेपछिको उपचार अनि शारीरिक पक्षहरूलाई महत्त्व दिन्छ। तर योग अभ्यासले मनको शान्ति, आत्मनियन्त्रण र आध्यात्मिकतामा महत्त्व दिँदै आएको योग गुरु भट्टराईले जानकारी दिनु भएको थियो ।

कार्यक्रममा वरिष्ठ अर्थोपेडिक डाक्टर बिनोद थापा, डाक्टर श्याम सुन्दर यादव, योग समिति नेपालका उपाध्यक्ष निर्मला शाह, लोक माया सुबेदी “सुमित्रा”, सल्लाहकार जगदिश चन्द र मिन बहादुर मल्ल लगायतले शुभकामना व्यक्त गर्नु भएको थियो । भने योग समिति नेपालका ३४ वटा केन्द्र संयोजक र प्रतिनिधिहरुको सहभागितामा रहेको थियो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button