तपाईँ सुन्दै हुनुहुन्छः

तेक्वान्दो खेल र खेलाडीको लागि कोहलपुरमा छैटौँ पुनर्ताजगी तालिम सुरु

बाँके । राष्ट्रिय तेक्वान्दो संघ नेपालद्वारा आयोजित छैटौँ राष्ट्रिय निर्णायक पुनर्ताजगी तालिम सुरु भएको छ। लुम्बिनी प्रदेश समितिको संयोजनमा सम्पन्न यस तालिमले तेक्वान्दो खेल र खेलाडीको विकासमा नयाँ आशा जागृत गराएको छ।

कार्यक्रममा राष्ट्रिय तेक्वान्दो संघ नेपालका केन्द्रिय अध्यक्ष महेश्वर फुयाँलले तेक्वान्दो खेललाई विभिन्न सङ्घहरूको नाममा फैलिएका विकृतिको अन्त्य गर्दै यस खेलको उच्चतम विकास र लोकप्रियताको लागि तेक्वान्दो संघ स्थापना गरिएको जानकारी दिनुभएको छ।

अध्यक्ष फुयाँलले तेक्वान्दो खेलप्रति समुदायको सकारात्मक दृष्टिकोण विकास गर्न आवश्यक रहेको बताउनुभयो। उहाँले समाजका सम्पूर्ण खेलप्रेमी र प्रशिक्षकहरूलाई एकीकृत गर्दै खेललाई नयाँ उचाइमा पुर्‍याउने योजना रहेको बताउनुभयो।

कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेशसभा सदस्य कृष्णा केसी (नमुना) ले खेल क्षेत्रको विकासका लागि प्रदेश सरकार सधैँ प्रतिबद्ध रहेको बताउनुभयो।

राष्ट्रिय तेक्वान्दो संघ नेपालका महासचिव राकेश कुमार राईको प्रशिक्षणमा लुम्बिनी, कर्णाली, र सुदूरपश्चिम प्रदेशका ८० जना खेलाडीले सहभागिता जनाएका छन् । प्रशिक्षक राईले खेलाडीको व्यक्तित्व विकास र अनुशासनको महत्त्वमाथि जोड दिँदै तेक्वान्दो खेललाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउन प्रशिक्षकहरूको भूमिका अपरिहार्य रहेको बताउनुभयो।

यस्तै लुम्बिनी प्रदेश तेक्वान्दो संघका अध्यक्ष बुद्धिबहादुर थापाले तेक्वान्दो खेलाडीले राष्ट्रको पहिचान निर्माण गर्न उल्लेखनीय भूमिका खेल्ने भएकाले प्रशिक्षक र खेलाडीहरू अनुशासनमा रही खेल क्षेत्रको विकासका लागि समर्पित हुनुपर्नेमा जोड दिनुभयो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button