सशस्त्र प्रहरीका ४ जना नायब महानिरीक्षकको पदावधि १ वर्ष थप
काठमाडौँ । सरकारले सशस्त्र प्रहरीका ४ जना नायब महानिरीक्षकको पदावधि १ वर्ष थप गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को यही पुष २३ गते बसेको बैठकका निर्णयहरू सार्वजनिक गर्न आज सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सशस्त्र प्रहरी नायव महानिरीक्षकहरू कमल गिरी, गणेश बहादुर ठाडा मगर, कुल बहादुर नेम्वाङ र शम्भु सुवेदीको १ वर्ष पदावधि थप गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।
यस्तै, बैठकले आज र भोली काठमाडौँमा हुने नेपाल–भारत वाणिज्य सचिवस्तरीय अन्तरसरकारी समितिको बैठकमा गरिने वार्ता तथा छलफलको कार्यसूची स्वीकृत गरेको छ ।
उक्त बैठकमा सहभागी हुनका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवको संयोजकत्वमा वार्ता टोली गठन गर्ने निर्णय गरेको प्रवक्ता गुरुङले बताउनुभयो ।
त्यस्तै, मन्त्रिपरिषद् बैठकले आगामी फागुन १२ देखि १५ गतेसम्म इटालीको रोममा आयोजना हुने जलवायु परिवर्तनसँग सम्बन्धित कार्यक्रममा सहभागी हुनका लागि वन तथा वातावरण राज्यमन्त्री रुपा विश्वकर्मालाई स्वीकृति प्रदान गरेको छ ।
मन्त्रिपरिषद् बैठकले सहरी विकास मन्त्रालयका सहसचिव विष्णुप्रसाद शर्मालाई विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकको रूपमा काम गर्ने गरी काजमा खटाउने निर्णय गरेको छ ।
परराष्ट्र मन्त्रालयका कायम मुकायम सचिव अमृतबहादुर राईलाई बढुवा गरी परराष्ट्र मन्त्रालयमा पदस्थापन गर्ने निर्णय पनि पनि भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले जानकारी दिनुभयो ।
मन्त्रिपरिषद्को यही पुष २३ गते बसेको बैठकका निर्णयहरू:
प्रतिक्रिया राख्नुहोस्