टीकापुर विमानस्थल निरन्तर सञ्चालन गर्नुपर्छ : मन्त्री पाण्डे
कैलाली । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेशको विकासका लागि टीकापुर विमानस्थल निरन्तर सञ्चालन गर्नुपर्ने बताउनुभएको छ ।
टीकापुर महोत्सव २०८१ को आज टीकापुरमा उद्घाटन गर्नुहुँदै मन्त्री पाण्डेले वर्षौँदेखि बन्द टीकापुर विमानस्थललाई सञ्चालनमा ल्याएर ती सम्भावनाको ढोका खुलिसकेको र यसको निरन्तरतासहित यहाँको बृहत्तर विकासमा सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।
उहाँले नेपालमा तीन वटा अन्तर्राष्ट्रियसहित ५५ वटा विमानस्थल भए पनि जहाजको अभावमा अहिले केही विमानस्थल प्रयोगमा नआएको बताउनुभयो ।
मन्त्री पाण्डेले थारू संस्कृतिको पहाडी समुदाय र पहाडी संस्कृतिको थारू समुदायले सम्मान गर्दै सद्भाव कायम गरेर नयाँ पुस्ता लागे टीकापुरले विकासमा छिट्टै फड्को मार्ने बताउनुभयो ।
राज्यमन्त्री अरुणकुमार चौधरीले टीकापुर हवाई मैदान बिस्तार गरेर कालोपत्रे गर्नसके सुदूरपश्चिम र कर्णालीका जिल्ला जोडिने र भारतीय पर्यटक आकर्षित गर्न सकिने बताउनुभयो ।
टीकापुर नगरका प्रमुख रामलाल डगौरा थारूले टीकापुरमा जहाज चलाउन चिन्तित भएर लाग्दा जहाज चल्यो तर कालोपत्रे गर्न सकियो भने विकासका सम्भावना पनि खुल्ने बताउनुभयो ।
सुदूरपश्चिम प्रदेशका पूर्व मन्त्री डा.रणबहादुर रावलले जहाज चलेपछि टीकापुर र आसपासका नागरिक र उद्यमीहरूमा सकारात्मक ऊर्जा प्रवाह भएको बताउनुभयो ।
महोत्सव आयोजकका तर्फबाट मन्त्री पाण्डेलाई मङ्सिर ३० गतेबाट सञ्चालनमा आएको टीकापुर हवाई मैदान बिस्तारसहित कालोपत्रे गरी सेवा निरन्तर दिनुपर्ने, ऐतिहासिक महत्व रहेको टीकापुर पार्कलाई राष्ट्रिय सङ्ग्रहालयको रूपमा विकास गर्नुपर्ने र टीकापुरलाई केराको पकेट क्षेत्रको रूपमा विकास गरिनुपर्ने माग राखिएको छ ।
सो अवसरमा व्यवस्थित टीकापुर शहरी विकासका नेतृत्वकर्ता तत्कालीन मन्त्री खड्गबहादुर सिंहलाई मरणोपरान्त सम्मान र रक्तदाता दीपकप्रसाद उपाध्यायलाई गरिएको थियो ।
२०६५ सालदेखि टीकापुरमा महोत्सव हुँदै आएको छ । महोत्सव माघ ६ गतेसम्म चल्नेछ ।
प्रतिक्रिया राख्नुहोस्