बर्दिया राष्ट्रिय निकुञ्जको पर्यटन प्रवद्र्धनका लागि महोत्सव आयोजना हुँदै
बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जको पर्यटन प्रवद्र्धन गर्नका लागि ठाकुरबाबा नगरपालिकामा प्रथम ठाकुरबाबा उद्योग, कृषि, पर्यटन प्रविधि तथा साँस्कृतिक महोत्सवको आयोजना गरिएको छ ।
ठाकुरबाबा उद्योग वाणिज्य सङ्घले बर्दिया राष्ट्रिय निकुञ्ज गेटमा पत्रकार सम्मेलनको आयोजना गर्दै महोत्सवको बारेमा जानकारी गराएको हो ।
ठाकुरबाबा उद्योग वाणिज्य सङ्घले आज पत्रकार सम्मेलन गर्दै बर्दिया राष्ट्रिय निकुञ्जलगायत बर्दिया जिल्लाको पर्यटन प्रवद्र्धनका लागि महोत्सवको आयोजना गर्न लागिएको जनाएको छ ।
संघका अध्यक्ष गणेश कुँवरले ठाकुरबाबा नगरपालिकामा लुम्बिनी प्रदेशमै बढी पर्यटक भित्र्याउने, धार्मिक साँस्कृतिक तथा पर्यटकीय क्षेत्रको प्रचार प्रसार गर्ने, कृषिमा रहेको व्यापार प्रवद्र्धन तथा कृषि यान्त्रीकरणलाई प्रोत्साहन गर्ने, स्थानीय कलाकारहरूको क्षमता अभिवृद्धि तथा प्रोत्साहन गर्ने लगायतका उद्देश्य राखी महोत्सवको आयोजना गर्न लागिएको बताउनुभयो ।
महोत्सव अवधिभर आन्तरिक तथा बाह्य पर्यटकहरूलाई विशेष सुविधा र प्याकेज दिइने उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष महेन्द्र पङ्गेनीले बताउनुभयो । “बर्दिया जिल्लामा भित्रिएका पर्यटकहरूलाई छिट्टै नै आकर्षक प्याकेजहरू सार्वजनिक गर्दैछौँ, आन्तरिक बाह्य र विशेषगरी भारतीय पर्यटक भित्र्याउने योजना रहेको छ ।”
महोत्सवका मुख्य आर्कषणहरुमा विद्यालय स्तरीय विज्ञान प्रतियोगिता, कृषि उत्पादन प्रदर्शनी, विद्यालय स्तरीय नृत्य प्रतियोगिता स्थानीय स्तरमा उत्पादित हस्तकला प्रदर्शनीका साथै राष्ट्रिय कलाकार तथा स्थानीय कलाकारको प्रस्तुती रहने वरिष्ठ उपाध्यक्ष पङ्गेनीले बताउनुभयो ।
माघ १४ गतेदेखि २४ गतेसम्म सञ्चालन हुने महोत्सवमा करिब ७० लाख खर्च हुने अनुमान आयोजकको छ महोत्सवमा एक सय २० वटा स्टल राखिने आयोजकले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्