तपाईँ सुन्दै हुनुहुन्छः

प्रजातन्त्र सेनानी नेपाली कांग्रेसका ज्येष्ठ नेता बस्नेतको निधन

सोलुखुम्बु । प्रजातन्त्र सेनानी तथा नेपाली काँग्रेसका ज्येष्ठ नेता देवीध्वज बस्नेतको निधन भएको छ । काठमाडौँको गौरीघाटस्थित निजी निवासमा बुधबार राती ९ः३८ बजे ९८ वर्षको उमेरमा निधन भएको हो । 

राणा शासन हटाउने २००७ सालको क्रान्तिमा सक्रिय सहभागिता जनाउनुभएका बस्नेत राणा शासन विरुद्धको आन्दोलनमा मुक्ति सेनामा लिखु खोला क्षेत्रबाट कमाण्डर भएर पूर्व कब्जा गर्दै चरिकोटसम्मको प्रजातन्त्र प्राप्तिको लडाइमा प्रत्यक्ष नेतृत्व गर्नु भएको थियो ।

२०१५ सालको आम निर्वाचनमा पूर्व ३ नं. क्षेत्रबाट नेपाली काँग्रेसलाई निर्वाचित गराउन बस्नेत परिवारले ठूलो मेहेनत गरेको जानकारहरू बताउँछन् ।

नेपाली कांग्रेस प्रतिबन्धित रहेकै अवस्थामा २०४५ साल मंसिरदेखि ०४८ को नवौं महाधिवेशनसम्म कांग्रेस सोलुखुम्बुका सभापति रहेका छत्रध्वज बस्नेतको भनाइमा काँग्रेसले २०१६ सालमा दुई तिहाइ बहुमतको सरकार गठन गरेपछि पार्टी निकट बुद्धिजीवी परिषद्को राष्ट्रिय सम्मेलन गरेको थियो । त्यो सम्मेलनमा देवीध्वज बस्नेत पूर्व ३ नं. बाट प्रतिनिधि चुनिएर केन्द्रीय बुद्धिजीवी सभाको सदस्य निर्वाचित हुनुभएको थियो । 

बस्नेत पञ्चायतकालमा सोलुखुम्बुको साविक चौलाखर्कमा जनपक्षीय प्रधानपञ्च निर्वाचित हुनु भएको थियो भने २०४९ को स्थानीय निर्वाचनमा चौलाखर्क गाविसको अध्यक्ष बन्नु भएको थियो । बस्नेत नेपाली कांग्रेसको इतिहासका लेखक एवम् संविधान सभा सदस्य स्वर्गीय पुरुषोत्तम बस्नेतको दाजु तथा पूर्वमन्त्री अम्बिका बस्नेतको काका हुनुहुन्छ । 

स्व. बस्नेतको अन्त्येष्टि पार्थिव शरीरमा नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङ र महामन्त्री गगनकुमार थापाले बिहीबार बिहान ९ बजे पशुपति आर्यघाटमा पार्टीको झण्डा ओढाएर गर्नुभयो । उहाँको निधनले काँग्रेसमा अपुरणीय क्षति पुगेको नेपाली काँग्रेसका केन्द्रीय सदस्य आङ्गेलु शेर्पाले बताउनुभयो ।

नेता बस्नेतको निधनले मुलुकको लोकतान्त्रिक आन्दोलनमा ठूलो रिक्तता महशुस गरेको काँग्रेस सोलुखुम्बुका सभापति नाम्गेलजाङ्बु शेर्पाले विज्ञप्ति मार्फत उल्लेख गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button