तपाईँ सुन्दै हुनुहुन्छः

शितलहरले चिप्लो भएपछि दाउन्नेमा सडक अवरुद्ध

नवलपरासी,पश्चिम् । शितलहरका कारण पूर्व पश्चिम् राजमार्ग अन्तर्गतको दाउन्ने सडक अवरुद्ध बनेको छ।नारायणगढ-बुटवल सडक विस्तारको क्रममा रहेको यो सडक खण्डमा मूलतः उकालो र ओरालोमा शितलहरले बाटो चिप्लो भएका कारण सडक अवरुद्ध बनेको प्रहरीले जनाएको छ।बाक्लो हुस्सुले अगाडिको सवारी समेत नदेखिने अवस्था छ ।

बर्दघाट नगरपालिका-४ खुर्सानी खोलास्थित पूर्व-पश्चिम राजमार्गमा हुस्सु तथा शितलहरको कारण बाटो चिप्लो भएर आज बिहान ४ बजेसम्म दुईतर्फी सडक अवरुद्ध भएर केही बेर एकतर्फी सञ्चालनमा आएपनी अहिले पुनः दुईतर्फी आवागमन नै अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय पश्चिम् नवलपरासीका डिएसपी रेशम बोहराले जानकारी दिनुभयो ।

प्रहरीले ठूला र मालवाहक सवारीलाई पूर्वतर्फ दुम्किबास र पश्चिमतर्फ बर्दघाटमा रोकेको छ ।यसअघि पनि वर्षामा सडक हिलो हुँदा उकालोमा सवारी चिप्लिएर सडक अवरुद्ध हुने गरेको थियो ।

सडक विस्तारको क्रममा दाउन्नेमा सडक एकतर्फी भएर घन्टौँ जाममा बस्नुपर्ने बाध्यतामा रहेका यात्रुलाई थप सास्ती भएको छ । सडक अवरुद्ध हुँदा सयौँ सवारी जाममा परेका छन् ।सडक चिप्लिएका कारण दुर्घटनाको जोखिम रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button