तपाईँ सुन्दै हुनुहुन्छः

अल्लोका कपडा बेचेर आयआर्जनमा जुट्दै महिला

गुल्मी । गुल्मी लगायतका पहाडी जिल्लामा अल्लो अर्थात् सिस्नुको कपडा बनाउने चलन पुरानै हो । पछिल्लो समय यहाँका महिलाहरूले व्यवसायीक रुपमा अल्लोका कपडा बेचेर आय आर्जन पनि गर्दै आएका छन् ।

गुल्मीको सत्यवती गाउँपालिका ८ भार्सेमा अल्लोका कपडा बुन्ने र बेच्ने पुरानै रीतिरिवाज हो । ग्रामीण क्षेत्रमा यत्तिकै खेर जाने सिस्नुका कपडा बनाउन महिलाहरूलाई राज्यले प्रेरित गरेसँगै उनीहरू व्यावसायिक रुपमा सिस्नुका कपडा बनाउँदै आएका छन् । विगत ८ वर्षदेखि भार्सेमा लघु उद्यमको लागि साझा सुविधा केन्द्र स्थापना गरेर अहिले १४ जना महिला अल्लोबाट टोपी, गलबन्दी, सल, कोट र मोजा बनाउँदै आएका छन् । औसत एक मिटर कपडा एक हजार रुपैयाँमा बिक्री हुने इन्द्रकला काउचा बताउनुहुन्छ ।

सिस्नुलाई टिपे पछि सुकाउने, धुने र पकाएपछि कपडा बुन्न सुरु गरिन्छ । कपडा बुनेर आय आर्जन गरिरहेको रामकुमारी दर्लामीको भनाइ छ । यहाँ उत्पादन भएको अल्लोको कपडा गुल्मीसहित छिमेकी जिल्लामा समेत निर्यात हुने गर्दछ ।

यहाँका महिलालाई रोजगारीसँग जोड्न सत्यवती गाउँपालिकासँगै घरेलु तथा साना उद्योग कार्यालय र तत्कालीन जिल्ला विकास समिति गुल्मीले विभिन्न कार्यक्रम गर्दै आए पनि नयाँ पुस्ताले यसतर्फ चासो नदिँदा अल्लोको कपडा हराउँदै जान थालेको टेनचना थापाको गुनासो छ ।

नयाँ पुस्तालाई अल्लोतर्फ आकर्षित गर्न तालिम, ज्ञान, सीप र बजारीकरणको पूर्ण ग्यारेन्टी सत्यवती गाउँपालिकाले गरिरहेको अध्यक्ष टिकाराम पाण्डेको दाबी छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button