तपाईँ सुन्दै हुनुहुन्छः

माओवादी केन्द्रको बैठक: नेताहरूको जीवनशैली पारदर्शी हुनुपर्नेमा जोड

काठमाडौँ, २१ पुसः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को केन्द्रीय समितिको आइतबार भएको छैटौँ पूर्ण बैठकमा सहभागी पार्टी अध्यक्ष पुष्पकमाल दाहाल ‘प्रचण्ड’ लगायत सहभागीहरू । तस्बिरः रत्न श्रेष्ठ÷रासस

काठमाडौँ । नेकपा माओवादी केन्द्रको जारी केन्द्रिय कमिटीको आजको बैठकमा धारणा राख्ने सदस्यहरुले प्रष्ट विचार र स्पष्ट राजनीतिक दृष्टिकोणसहित अगाडि बढ्नुपर्ने, नेताहरूको जीवनशैली पारदर्शी हुनुपर्ने अध्यक्षसहित सबै नेता कार्यकर्ता श्रम र उत्पादनमा जोडिनुपर्ने जस्ता धारणा राख्नुभएको छ ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले बैठकमा बोल्नुहुने सदस्यहरुले नेताको उच्च नैतिक चरित्र र सबैको विश्वास जित्ने खालको हुनुपर्ने, दण्डहीनताको अन्त्य गर्नुपर्ने, पार्टीलाई एकताबद्ध बनाएर पार्टीको सबलीकरणमा लाग्नुपर्ने, सदनलाई प्रभावकारी बनाउनुपर्ने सदन छिटो आह्वान गर्न दबाब सिर्जना गर्नुपर्ने लगायतका विचारहरू राख्नुभएको जानकारी दिनुभयो ।

प्रवक्ता सापकोटाले महाधिवेशनमा सबैको सहमति देखिएको तर केहीले तत्काल मिति तोक्नुपर्नेमा जोड दिनुभएको र केहीले अभियानमा गएर आएपछि मात्रै मिति तोक्नुपर्ने मत राख्नुभएको जानकारी दिनुभयो ।

माओवादी केन्द्रले पार्टीलाई सबल बनाउन जनताको बिचमा जाने गरी विभिन्न अभियानहरू चलाउने तयारी गरेको छ । 

प्रवक्ता सापकोटाले सदनको छिटो आह्वान गर्नको लागि अन्य पार्टीसँग पनि छलफल गरेर अघि बढ्नुपर्ने कुरा नेताहरूले राख्नुभएको बताउनुभयो ।

माओवादी केन्द्रको केन्द्रिय कमिटीको आजको बैठकमा ८० जनाले आफ्नो धारणा राख्नुभएको पार्टीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button