तपाईँ सुन्दै हुनुहुन्छः

भूकम्पबाट क्षतिग्रस्त संरचना पुनर्निर्माण गर्दै कर्णाली प्रदेश सरकार 

जुम्ला । कर्णाली प्रदेश सरकारले भूकम्पबाट क्षतिग्रस्त सामुदायिक विद्यालयका भवन तथा स्वास्थ्य संस्थाको पुनर्निर्माण कार्य तत्काल अघि बढाउने भएको छ । २०८० कार्तिक १७ गते जाजरकोटको रामिडाँडा केन्द्र बिन्दु भएर गएको भूकम्पले क्षतिग्रस्त शिक्षा र स्वास्थ्यका पूर्वाधारको पुनर्निर्माण तथा नयाँ संरचना निर्माणको कार्य भौतिक पूर्वाधार मन्त्रालयले अघि बढाउने भएको हो । 

भूकम्पले जाजरकोटमा मात्रै साढे तीन सय बढी विद्यालय भवनहरू क्षतिग्रस्त भएका थिए । 

प्रदेश सरकारले निकै जोखिमयुक्त भवनहरू पहिलो चरणमा निर्माण गर्न लागेको छ । गत मङ्सिर १७ गते भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयको मन्त्रीस्तरीय निर्णयले चालू आर्थिक वर्षको स्वीकृत वार्षिक कार्यक्रम अनुसार चालू आर्थिक वर्ष भित्रै सम्पन्न हुने गरि भूकम्पबाट क्षतिग्रस्त विद्यालय र स्वास्थ्य संस्थाका संरचना पुनर्निर्माण गर्न  छनोट गरिएको छ । 

जसमा जाजरकोटका ३१ वटा सामुदायिक विद्यालय र ११   स्वास्थ्य स्वास्थ्य संस्थाको पुनर्निर्माणका लागि २५ करोड बजेट समेत विनियोजन भइसकेको छ । चालू आर्थिक वर्षको भूकम्पबाट क्षतिग्रस्त सामुदायिक विद्यालय तथा स्वास्थ्य संस्थाको पुनर्निर्माण शीर्षकमा २५ करोड बजेट विनियोजन भएकोमा काम अघि बढाउन विद्यालय र स्वास्थ्य संस्था छनोट गरिएको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयलले जनाएको छ । 

जीर्ण र चर्किएकै छाना भएका संरचनाबाट पठनपाठन तथा स्वास्थ्य सेवा प्रवाह गर्नु परेको बाध्यात्मक अवस्थालाई मध्यनजर गरि पुनर्निर्माणको काम अघि बढाउन थालिएको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयका सिनियर इन्जिनियर प्रवीण कार्कीले बताए । 

भूकम्पबाट क्षतिग्रस्त भवन पुनर्निर्माण कार्यक्रम सञ्चालन कार्यविधि–२०८१ अनुसार जिल्लाबाट सिफारिस भई आएका विद्यालय भवन तथा स्वास्थ्य संस्था मध्य मङ्सिर १७ को मन्त्री स्तरको निर्णयले ३१ विद्यालय र ११ वटा स्वास्थ्य संस्थाको पुनर्निर्माण गरिने सिनियर ईन्जिनिर कार्कीले उल्लेख गर्नुभयो ।

संरचना पुनर्निर्माण गर्न २५ करोड विनियोजन

भूकम्पबाट क्षतिग्रस्त ४२ वटा संरचनाको पुनर्निर्माण गर्न कर्णाली प्रदेश सरकार भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले २५ करोड बजेट विनियोजन गरेको छ । जसमा ३१ वटा सामुदायिक विद्यालयका भवन पुनर्निर्माण गरिने भएको छ । ३१ विद्यालय भवन पुनर्निर्माण गर्न १९ करोड ८० लाख बजेट विनियोजन गरिएको छ । ११ वटा स्वास्थ्य संस्था पुनर्निर्माण गर्न ५ करोड २० लाख बजेट छुटाइएको छ ।

पुनर्निर्माण शीर्षकमा विनियोजित कुल २५ करोड मध्य क्षतिग्रस्त विद्यालयका  संरचनाका लागि १९ करोड ८० लाख छुट्टाइएको मन्त्रालयका सिनियर इन्जिनियर प्रवीण कार्कीले बताउनुभयाे । 

विद्यालय तथा स्वास्थ्य संस्थाका संरचना पुनर्निर्माण हुने बाटो खुले पनि पुसको  चिसोमा भूकम्प पीडित टहरामै बस्न बाध्य भएका छन् । अधिकांश भूकम्प पीडितले पहिलो किस्ता नै पाउन सकेका छैनन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button