आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको विकासमा ध्यान दिऔँ : अध्यक्ष दाहाल
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको आर्थिक अवस्थामा सुधार ल्याउन अर्थतन्त्रमा व्यापक सुधार गर्ने समय आएको बताउनुभएको छ ।
नेपाल राष्ट्रिय व्यवसायी महासङ्घको सातौँ वार्षिक साधारणसभा तथा तेस्रो राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै उहाँले परिवर्तित राजनीतिक व्यवस्था अनुकूल जनताको अवस्था परिवर्तन गर्न आर्थिक क्षेत्रमा व्यापक सुधार अनिवार्य भएको बताउनुभयो ।
अध्यक्ष दाहालले चालु आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम र बजेट निर्माण गर्दा आफ्नो नेतृत्वको सरकारले अर्थतन्त्रका रूपान्तरणकारी क्षेत्रको पहिचान र परिचालनका लागि स्पष्ट योजना अघि सारेको जिकिर गर्नुभयो ।
संविधानको अभिष्ट समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्नु रहेको भन्दै उहाँले त्यसका लागि उत्पादनमुखी अर्थतन्त्रलाई प्रवर्द्धन गर्दै आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको विकास गर्नुपर्नेमा जोड दिनुभयो ।
प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति एवं नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले मुलुकमा व्यावसायिक वातावरण बनाउन दलहरू आरोप प्रत्यारोपमा उत्रनुभन्दा एकताबद्ध भएर क्रियाशील हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
माओवादी केन्द्रका नेता एवं सांसद माधव सापकोटाले मुलुकको अर्थतन्त्रलाई सुधार गर्दै व्यवसायीले भोग्दै आएका चुनौतीलाई समाधान गर्न सम्पूर्ण राजनीतिक दल एक ठाउँमा उभिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा महासङ्घमा रहेर व्यावसायिक क्षेत्रमा विशिष्ट योगदान गरेबापत कुसुम महर्जन, लक्ष्मी खड्का र अञ्जु चाम्लिङलाई प्रशंसा पत्रसहित सम्मान गरिएको थियो ।
रासस
प्रतिक्रिया राख्नुहोस्