पशुपालन व्यवसायीको समस्या समाधान गर्न किसानहरूको माग
विराटनगर । पशुपालनमा व्यवसायमा देखिएको विद्यमान समस्या समाधान र त्यसको सुधारका लागि आवश्यक कार्य अघि बढाउन पशुपालक किसानहरुले सरकारसँग माग गरेका छन् ।
पशुपालन व्यवसायमा आवद्ध किसानहरुले ‘जय किसान जय नेपाल’ नामक संस्था गठन गर्दै समस्या संवोधन गर्न सरकारसँग माग गरेका हुन । संस्थाले विराटनगरमा आज पत्रकार सम्मेलन गर्दै पशुपालन व्यवसायहरूको माग सम्बोधनका लागि ११ बुँदे माग सार्वजनिक गरेका छन् ।
जस अनुसार, मुलुकको आर्थिक अवस्थाका कारण बैङ्कबाट ऋण लिएर लगानी भएका कृषि तथा पशुपालन फर्महरू पूर्ण रुपमा बन्द तथा लिलाम हुने अवस्थामा पुगेकाले त्यसलाई बचाउन पुर्नकर्जाको व्यवस्था गर्न तथा पशुहरूको गुणस्तरीय आहारा साथै पशुपालनका लागि चाहिने आवश्यक जमिन खरिदका लागी लगानीको व्यवस्था मिलाउन माग गरेका छन् ।
पत्रकार सम्मेलनमा संस्थाका अध्यक्ष डम्बरबहादुर कार्कीले अहिले पशुपालन व्यवसाय फस्टाउँदै गए पनि सरकारी निकायहरूबाट कुनै प्रकारको सहयोग नपाउँदा धेरै कृषि फर्म धराशायी भएको बताउनुभयो ।
अर्का व्यवसायी मजरुह हुसेनले गाई पालन व्यवसायसँगै आफूहरूले भैँसी पालनका लागि ठुलो लगानी गर्न लागेको जानकारी गराउनुभयो । यसै विषयलाई लिएर संस्थाले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई ज्ञापनपत्र समेत बुझाएको छ ।
मोरङमा पशुपालनमा आबद्ध २ सय ७३ बढी फर्म सञ्चालनमा रहेको र फर्महरूमा करोडौँका लगानी रहेको संस्थाका अध्यक्ष कार्कीले बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्